बुध्द एयरले ६ महिनामा गर्‍यो ४ अर्बको कारोबार



काठमाडौं । हवाई उडान सेवा दिँदै आएको बुध्द एयर प्रालिले चालु आर्थिक वर्षको ६ महिनामा करिब ४ अर्बको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ को ६ महिनाको अवधिमा ३ अर्ब ८३ करोड रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२२ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ र सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।

आन्तरिक हवाई उडान सेवा दिँदै आएको कम्पनीले भारतको वाराणसीमा अन्तर्राष्ट्रिय उडान सेवा दिँदै आएको छ । हवाई क्षेत्रमा पहिलो निजी लगानीमा सञ्चालनमा रहेको कम्पनी नेपालको सबैभन्दा ठूलो र लामो इतिहास बोकेको कम्पनी हो ।

वीरेन्द्रबहादुर बस्नेत अध्यक्ष रहेको कम्पनीमा अधिकांश उनैको स्वामित्व छ । कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनीको ६ प्रतिशत हिस्सा छ ।

कम्पनीअनुसार कोभिडले अस्तव्यस्त बनेको हवाई क्षेत्र कोभिडपछि भने उच्च कारोबार गरेको जनाएको छ । कम्पनीले सन् २०२४ को ६ महिनाको अवधिमा १८ प्रतिशत नाफा कमाएको छ । कोभिडपछि विदेशी पर्यटनको आगमन बढ्दा व्यापारमा उछाल आएको जनाएको छ । जसमा कोभिड अघिको तुलनामा कोभिडपछि २५ प्रतिशतले पर्यटक बढेको छ ।

२७ वर्षदेखि हवाई सेवा दिँदै आएका कम्पनीले अहिले नेपाली हवाई बजारको ६७ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२२ मा ५६ प्रतिशत बजार ओगटेको थियो । कम्पनीले कोभिडपछि ६ वटा हवाईजहाज किनेको थियो । साथै, कम्पनीले २ वटा पुरानो हवाईजहाज भने हालै बेचेको जनाएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले १ अर्ब ६० करोड २३ लाख रुपैयाँ र २ करोड ५५ लाख अमेरिकी डलरको रेटिङ गराएको छ ।


क्लिकमान्डु