कसरी नम्बर वान एयरलाइन्स कम्पनी बन्यो बुध्द ? (भिडियो)



काठमाडौं । आक्रामक बजार विस्तारमा लागिरहेका तत्कालीन वायुसेवा नेकोन र कस्मिकबीचमा सन् १९९६ मा प्रतिस्पर्धा चलिरहेको थियो । त्यतिबेला आन्तरिक उडानमा सेवा दिने गरी बुध्द एयर दर्ता भयो ।

सन् १९९७ को अक्टोबर ११ मा १९ सिट क्षमताको १९०० डी नामक जहाजबाट सेवा सुरु गर्दा नेकोनसँग ७ वटा जहाज थियो । ग्राहकलाई आकर्षित गर्न बजार विस्तारलाई मात्रै ध्यान दिएको नेकोन र कस्मिकका रणनीति असफल हुँदा कम्पनीले उचाइँ लिनुको सट्टा उँधोगति लियो ।

बुध्द एयरले भने उडान सुरु गरेको पहिलो वर्षमै ३ वटा जहाज बनाएर प्रतिस्पर्धी वायुसेवालाई टक्कर दिन थालिसकेको थियो । त्यतिबेला नेपाल एयरवेज र एभरेष्ट एयर बन्द हुनुलाई भर्खर सुरु भएको बुध्द एयरलाई भने अवसर बन्यो । जसले आजको उचाइँमा बुध्द एयर पुग्यो ।

स्थापनाकालको पहिलो २२ महिना बजारमा एकाधिकार भएको यो वायुसेवासँग विस्तारै प्रतिस्पर्धी कम्पनी थपिँदै गए । एक दशक अगाडिसम्म यति एयरलाइन्स प्रमुख प्रतिस्पर्धी थियो । यतिको जहाजको क्षमता नबढ्दा ठूला जहाजका कारण बुध्दको बजार हिस्सा बढ्यो । अहिले बुध्दको मात्रै आन्तरिक उडानमा ६२ प्रतिशतको बजार हिस्सा छ ।

स्थापनाकालदेखि नै आक्रामक बजार विस्तारभन्दा पनि बुध्दले ब्राण्डिङलाई प्राथमिकता दिन थाल्यो । २६ वर्ष अगाडि पर्वतीय उडानबाट सेवा सुरु गरेको बुध्दको पहिलो सेड्युल उडान काठमाडौं–पोखरा थियो । भैरहवा र विराटनगर हुँदै गन्तव्य विस्तार गर्दै गएको बुध्द एयर अहिले पनि सहरी क्षेत्रका विमानस्थल (ट्रंक रुटमा)मा सेवा दिने अग्रणी वायुसेवा हो ।

सुरुवाती दिनमा जे जति सेवा दिन सक्ने क्षमताका जहाज थिए त्यसैलाई ब्राण्डिङ गरेर अगाडि बढेकोले अहिले बजारमा अग्रणी वायुसेवा बन्न सकिएको, बुध्द एयरका वरिष्ठ बजार प्रवन्धक रुपेश जोशीले बताए ।

गन्तव्य विस्तार र जहाजको उडान क्षमता बढाउने क्रममा बुध्दले १९ सिट क्षमताका जहाज सञ्चालन गरेको १२ वर्षपछि ४७ सिट क्षमताको एटीआर ४२ जहाज भित्र्यायो । आन्तरिक उडानमा क्षमता बढी भएका जहाज भित्र्याउँदा लागत कम पर्ने र लाभ बढी हुने निष्कर्षमा यो वायुसेवा पुग्यो ।

सुरुवातमा भित्र्याएको १९ सिट क्षमताको जहाजलाई गत वर्ष (२०२३ बाट) मात्रै एटीआरमार्फत यो वायुसेवाले विस्थापित गर्‍यो । एकै प्रकारका जहाज उडाउन सहज र लाभ हुने भन्दै बुध्दले सबै एटीआर जहाज मात्रै चलाउन थालेको छ ।

४७ सिटको एटीआर भित्र्याएको एक वर्षपछि (सन् २०१० मा) बुध्दले ७२ सिट क्षमताको एटीआर ७२ जहाज भित्र्यायो । त्यसपछि ७२ सिट क्षमताकै जहाज प्राथमिकता राख्यो । जसका कारण यो वायुसेवासँग अहिले भएका १७ वटामध्ये १४ वटा ७२ सिट र ३ वटा मात्रै ४७ सिट क्षमताका जहाज छन् ।

बजारको आवश्यकताअनुसार जहाज थप गरेको र यात्रुको रुचीअनुसार उडान सहजीकरण गर्न सकेका कारण गत वर्ष सन् २०२३ मा यसले २५ लाख ७७ हजारलाई सेवा दिएको छ । पछिल्लो एक वर्षमा यो वायुसेवामार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रने यात्रु १२ लाख ९१ हजार र बाहिरिनेको संख्या १२ लाख ८६ हजार छ । यसले औषतमा दैनिक ८ हजार यात्रुलाई सेवा दिइरहेको छ ।

पूर्वाधार, जहाज र सुविधाजस्ता कुरामा अब्बल भएको बुध्द एयर सफल हुनुको पछाडि थुप्रै कारणहरु छन् । पहिलो कारण त यो कम्पनीले पाएको समय हो । नेपालमा भएका अन्य वायुसेवा कम्पनीहरु बन्द भएको बेलामा बुध्द एयरले आफूलाई आक्रामक रुपमा विस्तार गर्न सकेको थियो । तर, आक्रामक रुपमा विस्तारले मात्रै पनि सफलता भने हात परेको होइन । बुध्द एयरले सधैं भन्ने कुरा यात्रुको सुरक्षा आफ्नो प्राथमिकता रहेको भन्ने छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुध्दको आफ्नै ह्यांगर पनि छ ।

बुध्द एयरको प्राविधिकदेखि सुरक्षा विभाग सबैले यहाँबाट नै काम गर्छन् । बुध्द एयरको ह्यांगरसँग नेपालमा भएका निजी एयरलाइन्सहरुमध्ये सबैभन्दा धेरै स्पेयर पार्ट्स र उपकरणहरुको पनि इन्भेन्टरी रहेको छ ।

बुध्द एयरसँग आफ्नै सेफ्टी म्यानेजमेन्ट सिस्टम रहेको छ, जसले सुरक्षा मापदण्डहरुलाई मोनिटर गर्न, पहिचान गर्न र अवलम्बन गर्न सहयोग गर्छ । नेपालमा भएका एयरलाइन्स कम्पनीहरुमध्ये बुध्द एयर मात्रै यस्तो कम्पनी हो जोसँग शतप्रतिशत आफ्नै उडानहरु एफडिएम अर्थात फ्लाइट डेटा मोनिटरिङ गर्ने सुविधा छ ।

बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत

प्राविधिकदेखि जहाज र आवश्यक इन्भेन्टरी मात्रै भएर सफलता आउँछ भन्ने हुँदैन । बुध्द एयरको सफलताको पछाडि यसका संस्थापक तथा कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतको मेहनत पनि प्रमुख कुरा हो । बुध्द एयर सुरु हुँदा अहिले केन्द्रीय कार्यालय रहेको ठाउँमा आफ्नै घरमा बुध्द एयरको कार्यालय थियो । ९९ जना कर्मचारी एउटै घरमा बसेर काम गर्थे । एयरलाइन्सको क्षेत्रभन्दा बाहिरबाट आएर पनि एयरलाइन्सलाई अघि बढाउन र सफल बनाउनमा बस्नेतको उत्तिकै मिहेनत रहेको छ ।

कति गर्छ कारोबार ?

बुध्द एयरको आम्दानी हेर्ने हो भने वर्षेनी कम्पनीले औसतमा ७ अर्ब रुपैयाँको कारोबार गरेको देखिन्छ । इक्रा नेपालको रेटिङकाअनुसार बुध्द एयरले सन् २०२२ को सुरुवातको ९ महिनामा ७ अर्ब ६९ करोडको कारोबार गरेको थियो । बुध्द एयरका अनुुसार उक्त आम्दानी कोभिड अगाडिको अवस्थामा भन्दा राम्रो हो । कोभिड अगाडि सन् २०१९ मा यो कम्पनीको सञ्चालन आय ६ अर्ब ८० करोड रुपैयाँ थियो ।

यसले सन् २०१९ मा ६ अर्ब ८० करोडको कारोबार गरेको भने २०१८ मा ६ अर्ब ८ करोड रुपैयाँको कारोबार गरेको देखिन्छ ।

बुध्द एयरको आफ्नो कारोबार त अर्बौं रुपैयाँको छ नै, राज्यलाई यो कम्पनीले करोडौं रुपैयाँ कर तिरेको छ । बुध्द एयरले गत वर्ष सन् २०२३ मा मात्रै वार्षिक ९४ करोड रुपैयाँ कर तिरेको छ । यसमध्ये डाइरेक्ट ट्याक्स ५ करोड छ भने अप्रत्यक्ष कर ८९ करोड रुपैयाँ रहेको छ ।

बुध्द एयरका अनुसार एटीआरमा जाने व्यवस्थापनको निर्णय प्रभावकारी हुन पुग्यो । आन्तरिक उडानमा सफल यो वायुसेवाले नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमतिसमेत पाएको छ । यसले हाल भारतको बनारसमा मात्रै नियमित उडान गरिरहेको छ भने पोखराबाट अन्तर्राष्ट्रिय उडानको अनुमति मागेको छ । अनुमति पाए तुरुन्तै पोखराबाट वनारस उडान गर्ने योजना यो वायुसेवाको छ । यसले अहिले भएकै जहाजबाट आगामी ६ महिनापछि जनकपुरबाट अयोध्या उडान गर्ने भएको छ । भारतले अनुमति दिनासाथ उडान गर्ने गरी योजना तय भएको पनि यो वायुसेवाको भनाइ छ । यो वायुसेवालाई सफलताको उचाइँमा पुर्‍याउन १५ सय कर्मचीरी, यात्रुको आवश्यता र चाहना अनुसारको उडान भएको बुध्द एयरको भनाइ छ ।

भिडियो: युवराज भट्टराई/क्लिकमान्डु


राजु बास्कोटा