शालिन मृत्यु प्रकरण: प्रिन्सिपल वार्डेनसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता



चितवन । चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा १४ वर्षीया शालिन पोखरेल मृत फेला परेको घटनामा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ ।

शिशु निकेतन स्कुलका प्रिन्सिपलसहित ३ जनाविरुद्ध जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय चितवनले जनाएको छ ।

पोखरेलको परिवारले ज्यान सम्बन्धी कसुरमा जाहेरी दिए पनि सो कसुरमा प्रमाण नजुटेपछि मुद्दा परिवर्तन गर्दै आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको हो । शालिन मृत्यु प्रकरणमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय प्रिन्सिपल बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल पक्राउ परेका छन् ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल फागुन १२ मा मृत फेला परेकी थिइन् । पक्राउ परेकाहरू मध्ये एकजना भाइस प्रिन्सिपल र अर्का होस्टलको वार्डेन हुन् ।

त्रिवि शिक्षण अस्पतालले उनको मृत्युको कारण आत्महत्या भएको पोस्टमार्टम रिपोर्ट दिएको थियो । पोस्टमार्टपछि उनका बाबुआमा दुवैजनाको उपस्थितिमा फागुन २२ गते शालीनको अन्त्येष्टि गरिएको हो । शालीनका बुवा काठमाडौं र आमा पाकिस्तानीसँग बिहे गरेर दुबईमा बस्दै आएकी छन् ।

यो प्रकरणमा दीपेन्द्रका भाइले जिल्ला प्रहरी कार्यालय, चितवनमा एकता शिशु निकेतनका प्रिन्सिपल देवकोटा, भाइस-प्रिन्सिपल अधिकारी र होस्टल वार्डेन पौडेलविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए ।


क्लिकमान्डु