बाँसबारीको जग्गा सरकार मातहत ल्याउन आजै प्रकृया थाल्न गृहमन्त्रीको निर्देशन



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रकृया आजै सुरु गर्न निर्देशन दिएका छन् ।

गृहसचिव, प्रहरी प्रमुख, सीआईबी प्रमुख लगायतसँग आइतबार मन्त्रालयमा छलफल गर्दै गृहमन्त्री लामिछानेले छलाजुत्ता कारखानाको जग्गा सरकार मातहत ल्याउने प्रकृया सुरु गर्न निर्देशन दिएका हुन् ।

तर यस विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ ।

फागुन १८ गते सर्वोच्च अदालतले जग्गा फिर्ताको प्रक्रिया अघि बढाउने निर्णयको फाइल झिकाउन आदेश दिएको थियो ।

मालपोतले जग्गा फिर्ताको प्रकृया अघि बढाउने भएसँगै कार्यालयले सीजी चाँदबागका अध्यक्ष सन्जय ठाकुरलाई २१ दिने म्यादसहितको पत्र बुझाएको थियो ।

मालपोतले जग्गा फिर्ताको प्रकृया थालेपछि उक्त प्रक्रिया रोक्न माग गर्दै चौधरी ग्रुप सर्वोच्च अदालतल पुगेको थियो ।

डिल्लीबजार मालपोत कार्याललेले उक्त जग्गाको श्रेस्ता अद्यावधिक गर्न भन्दै चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएपछि चौधरी ग्रुप अदालत पुगेको थियो ।

साबिक च्याम्पियन फुटवेयर प्रालि तथा अहिलेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिले उत्प्रेषणको आदेशबाट सरकारले अघि बढाएका प्रक्रिया बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना भएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित तीनजना हाजिर जमानीमा छुटेका थिए ।


क्लिकमान्डु