सीआईटीलाई अर्थमन्त्रीको सुझाव: योगदानकर्ताको पैसा नडुब्ने क्षेत्रमा लगानी गर्नुस्



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् ।

आइतबार नागरिक लगानी कोष(सीआईटी) को ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी कमजोरीहरुलाई भविष्यमा नदोहोर्‍याउने प्रतिवद्धतासहित अघि बढ्न सुझाव दिए। लगानी कोषले गरेका लगानीहरुमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने उनले बताए ।

देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती रहेको बताउँदै आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि बताए ।विगतमा भएका कामको आलोचना गर्ने भन्दा भएका कमजोरीहरुलाई सुधारेर जानसक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने बताए ।

पूर्ववर्ती अर्थमन्त्रीहरुले सुरु गरेको राम्रो कामलाई आफूले निरन्तरता दिने बताए ।

अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धीकरण जरुरी रहेको बताए । प्रशासन संयन्त्रमा पनि शुद्धीकरण जरुरी रहेको र प्रशासन संयन्त्रको शुद्धीकरणविना देशको आवश्यकता पूरा गर्न नसकिने उनले बताए ।

‘राजनीतिक नेतृत्वका समस्या छन्, राजनीतिमा शुद्धीकरण जरुरी छ, हामी आफैँले ठानेका छौं । आम जनसमुदायले ठानेको छ । हाम्रो प्रशासन संयन्त्रमा शुद्धिकरण जरुरी छ,आजको आवश्यकता पूरा गर्नसक्ने अवस्था छैन । हिजोको हामी सम्मान गर्दछौँ, कयौँ कमी भए, त्यसलाई सच्याएर जानुपर्छ’ अर्थमन्त्री पुनले भने ।


क्लिकमान्डु