ओली र बाणिज्यमन्त्री भण्डारीद्वारा दोधारा चाँदनी बन्दरगाह अवलोकन



काठमाडौं । पूर्व प्रधानमन्त्री केपी ओली शर्मासहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले संयुक्त रुपमा कञ्चपुरस्थित प्रस्तावित एकीकृत जाँच चौंकी र सुख्खा वन्दरगाहको अवलोकन गरेका छन् ।

अवलोकनको क्रममा ओली र मन्त्री भण्डारीले कार्यप्रगतिको बारेमा जानकारी लिएका थिए । अबलोकन भ्रमणका क्रममा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्रस्तावित एकिकृत जाँच चाकी र सुक्खा बन्दरगाहको बिषयमा सरकारबाट वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र संरचनाको डिजाइन समेत स्वीकृत भइसकेको जानकारी गराएका थिए ।

साथै एकिकृत जाँच चौकी भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको गजुरेलले जानकारी दिएका थिए । निर्माणको गर्न आवश्यक पर्ने जग्गा प्राप्तिका लागि स्थानिय निकाय, सामुदायिक वन उपभोक्ता समितिलगायतका क्षेत्रबाट सहमति उपलब्ध भएको र हाल वन तथा वातावरण मन्त्रालय मार्फत् आवश्यक प्रक्रिया अघि बढेको उनले बताए ।

मन्त्री भण्डारीले एकिकृत जाँच चौकीको निर्माण सुदुरपश्चिमको वृहत्तर पक्षको विकासमा कोशेढुंगा सावित हुने बताउँदै जग्गा प्राप्ती तथा निर्माण कार्य शिघ्र थालनी गर्ने तर्फ अग्रसर रहन नेपाल इन्टरमोडल यातायात विकास समिति लगायत सबै सरोकारवाला निकायलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको २०८० जेठमा सम्पन्न भारत भ्रमणको क्रममा उक्त एकीकृत जाँच चौकी भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने गरी सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

एकीकृत जाँच चौकी कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा पर्ने गौरिशंकर मध्यवर्ती सामुदायिक वनको ४२.३६ हेक्टर जग्गामा निर्माण हुँदैछ ।


क्लिकमान्डु