स्थलमार्ग हुँदै पहिलो पटक चीन पुग्यो नेपाली चिया



एजेन्सी । नेपालको चियाले स्थलमार्ग हुँदै चीनको तिब्बतमा प्रवेश पाएको छ ।

तिब्बत सरकारको आधिकारिक वेबसाइट तिब्बतओएलडटसिएनकाअनुसार उत्तरपश्चिम चीनको जियाङ प्रान्तमा नेपालको चियाले प्रवेश पाएको हो ।

ल्हासा भन्सारलाई उदृत गर्दै उक्त अनलाइनमा जनाइए अनुसार नेपालको चिया स्थलमार्गबाट ज्याईरोङ सुक्खा बन्दरगाह हुँदै तिब्बतमा पुगेको हो ।

ज्याईरोङ बन्दरगाह नेपाल र चीनबीचको सबैभन्दा ठूलो बन्दरगाहको रुपमा रहेको छ, जहाँबाट दुई देशबीच विभिन्न व्यापारहरु हुँदै आएका छन् ।

ज्याईरोङ बन्दरगाह क्षेत्रका सिमानाका बासिन्दा मिग्मर छिरिंगले भनेका छन्, ‘हामीले लामो समयदेखि उच्च गुणस्तर र सुलभ मूल्यको नेपाली चिया पर्खिरहेका थियौं । योसँगै हामीले सीमा क्षेत्रबाट सामान ल्याउँदाका आवश्यक प्रक्रियाहरु पनि अहिले बुझेका छौं ।’

ज्याईरोङ भन्सारका प्रमुख जिई जिआङले भने आफूहरुले भन्सार कार्यालयमार्फत नेपाल र चीनबीचको व्यापारलाई बढाउन र स्थानीयलाई सुविधा दिनका लागि आवश्यक कामहरु गरिरहेको बताएका छन् । उनले उच्च गुणस्तरीय विकासका साथ यो क्षेत्रको वैदेशिक व्यापारलाई पनि बढाउनमा काम गरेको बताए ।


क्लिकमान्डु