विकास आयोजनाका काममा ढिलाइ नगर्न सांसद विनोद चौधरीको निर्देशन



नवलपरासी । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालनमा रहेको विकास परियोजनाबारे सरोकारवालासँग छलफल गरेका छन् ।

सोमबार चौधरीले जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरुसँग छलफल गरेका हुन् । कतिपय परियोजनाहरु तोकिएको समयमा सम्पन्न नभएको भन्दै निर्माण व्यवसायीसहितका सरोकारवालासँग चौधरीले छलफल गरेका थिए ।

जनप्रतिनिधिको सबैभन्दा ठूलो जिम्मेवारी परियोजना सकेसम्म छिटो सम्पन्न होउन् भन्ने रहेको भन्दै चौधरीले आयोजना निर्माणका क्रममा देखिएका समस्याहरु समाधान गर्दै गएकोले कन्ट्र्याक्टर जिम्मेवार बन्नु पर्ने बताए ।

‘जनप्रतिनिधिको हैसियतले सबैभन्दा ठूलो जिम्मेवारी भनेकै परियोजना सकेसम्म छिटो सम्पन्न होउन् भन्ने हो, ‘ चौधरीले भने, ‘सरकारको तर्फबाट सहजीकरण गर्नु हाम्रो काम हो र गरिरहेका छौं । निर्माण सामग्रीको सहजताका लागि पनि लाग्यौं । समाधान पनि भयो । पछिल्लो छलफलमा कुनै समस्या छैन भन्ने भयो तर काम समयमा सम्पन्न हुनु पर्‍यो भन्ने हो ।’

रकम निकासाका लागि सरकारीपक्षबाट कुनै समस्या छैन भने आयोजना सम्पन्न नहुनुमा कन्ट्रयाक्टरको समस्या रहेको उनले बताए ।

आयोजना सम्पन्न गर्ने सम्झौता भए अनुसार समयमा कामहरु सकिनु पर्छ भन्ने आफूहरुको मान्यता रहेको उनले बताए ।
हामीले खोजेको प्रोग्रेस चाहियो । यो कामहरु यो मितिमा यसरी गर्छौं भन्ने प्रतिवद्धतालाई पनि दोहोर्‍याउनु पर्नेछ’ उनले भने ।

कुनै पनि हालतमा विकास आयोजनामा बिलम्ब नगर्न उनले निर्देशन दिए ।


क्लिकमान्डु