महासंघको टोलीसँग अर्थमन्त्रीले भने- ढुक्क हुनोस्, व्यवसायीलाई हतोत्साही हुन दिन्न



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो शर्त निजी क्षेत्र र सर्वसाधारणको मनोबल बढाउनु रहेको बताएका छन् । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँगको भेटवार्तामा विहीबार अध्यक्ष ढकालले हालको विद्यमान अर्थतन्त्रको विषयमा ध्यानाकर्षण गराउदै साना शहर र गाउसम्म रकम प्रवाह गर्न सरकारले पूजीगत खर्च बढाउनुका साथै पुर्नकर्जा सुविधा विस्तार गर्नुपर्ने बताए ।

‘सहकारी र लघुवित्तमा देखिएको समस्याले साना व्यवसायी र सर्वसाधारणको हातमा रकम पुग्न सकेको छैन,’ उनले भने- ‘त्यसका लागि सरकार र बैंकमा रहेको रकम सर्वसाधारणको हातमा पुग्ने व्यवस्था गर्नुपर्छ ।’

उनले निर्माण व्यवसायीलाई बक्यौता रकम तिर्न पहल गर्न पनि मन्त्री पुन समक्ष आग्रह गरे । ढकालले अर्थमन्त्रीलाई कोभिड समयमा लिएको व्यवसाय निरन्तरता कर्जाको सबै भुक्तानी भैसकेको उदाहरण दिँदै नेपाली व्यवसायी जिम्मेवार रहेको र सरकारले विश्वास गर्नुपर्ने बताए ।

अध्यक्ष ढकालले मन्त्री पुनलाई निजी क्षेत्रलाई निर्वाध काम गर्न दिइनुपर्ने बताए ।

‘निजी क्षेत्र भन्नाले ठूलो उद्योगदेखि गाउँको किराना पसलसम्म हो,’ ढकालले भने- ‘सरकारले अत्याउने, धरपकड गर्ने, निरुत्साहित बनाउने काम हुनु हुँदैन र निजी क्षेत्रको मनोबल बढाउनुपर्छ ।’

यसैगरि राजश्व कम उठिरहेको समयमा धरपकड गरी राजस्व उठाउने गरिएको बारे पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराए ।

चार बर्षअघि राजश्वले टुंग्याएको बिषयलाई महालेखा परिक्षकको कार्यालयले खोतल्ने र दण्ड दिने गरेको कुरामा पनि उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

निजी क्षेत्रले उठाइरहेको मर्यादाक्रमको विषयमा पनि ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराए । अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रलाई मर्यादाक्रममा राख्दा निजी क्षेत्रको मनोबल अझै बढ्ने जानकारी दिए।

‘सरकारले खर्च नगरि विश्वास बढने यस्ता बिषयमा कन्जुस्याईं गर्नु हुँदैन,’ उनले भने– ‘यी साना विषयजस्ता देखिएपनि यसले देशभरका सबै उद्यमी व्यवसायको हौसला बढाउँछ ।’

अध्यक्ष ढकालले जुनसुकै पार्टी भएपनि आर्थिक एजेन्डामा एकरुपता हुनुपर्ने माग गर्दै आइरहे को कुरा पनि अर्थमन्त्रीलाई अवगत गराए । उनले अर्थतन्त्र जटिल विषय भएकाले आर्थिक समस्या समाधानका लागि सबै पार्टि र पक्षको प्रतिबद्धता आवश्यक रहेको पनि बताए ।

अध्यक्ष ढकालले बैंक वित्तीय संस्थामा पनि समस्या देखिएमा अर्थतन्त्रमा थप जटिलता बढने तर्पm सजग गराउँदै यसको संवेदनशीलता बुभ्mन आग्रह गरे ।

‘बैंक वित्तीय संस्थाको ऋण तिर्नु नपर्ने भनि गलत प्रचार प्रसार भैरहेको छ, उनले भने, ‘यसमा सरकार सचेत हुनुपर्छ ।

भेटवार्ताको क्रममा अर्थमन्त्री पुनले निजी क्षेत्रलाइ विस्वासमा लिएर अगाडी बढ्ने बताए । उनले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडी बढ्ने कुरामा आफ्नो प्रतिबध्दता रहेको जानकारी पनि गराए ।

मन्त्री पुनले कुनै समुदायप्रति अपराधीजस्तो व्यवहार नगरिने बताए । निजी क्षेत्रमाथि धरपकड भैरहेको अध्यक्ष ढकालको प्रश्नमा मन्त्री पुनले पहिले अनुसन्धान पुरा नगरि थुन्ने वातावरण अन्त्य गर्न सम्बन्धित निकायहरुसँग पनि समन्वय गरिने बताए । गल्ती गर्नेले सजाय पाउँछ तर कोही व्यक्तिले गल्ती गर्दैमा पुरै समुदायलाई नराम्रो भन्न नहुने उनको जिकिर थियो । राज्य भनेको नागरिकको सुरक्षा र सेवा दिने निकाय हो भन्दै मन्त्री पुनले उद्यमी व्यवसायीलाई निरुत्साहित हुन नदिने बताए ।

‘यो मेरो जिम्मेवारी हो,’ मन्त्री पुनले भने- ‘म यहाँहरुलाई हतोत्साही हुन दिन्न ।’


क्लिकमान्डु