प्रचण्डको भाग्य, दैब नजानेः यस्तो हुनसक्छ अबको ‘उथलपुथल’
कामरेड प्रचण्ड सगर्व भन्छन्- म नमरेसम्म यो देशमा उथलपुथल भइरहन्छ ।
भर्खरै मात्र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री कामरेड प्रचण्डले आफ्नो ६९औं जन्मोत्सव मनाएका छन् । उनको दिर्घायू र सतायूको कामना छ ।
यो उमेरसम्म उनको स्वास्थ्यको बारेमा खराब रिपोर्ट सार्वजनिक भएका छैनन् । देख्दा हट्टा-कट्टा र हृष्टपुष्ट छन् । उनको रसिलो र भरिलो अनुहारले प्रमाणित गर्छ- कामरेड प्रचण्ड माओवादी ‘जनसेना’ का कमाण्डर इन चिफ थिए ।
हो, उनी एउटा रिटायर्ड आर्मी चिफभन्दा कुनै कमी देखिन्नन् ।
त्यसो भए प्रश्न उठ्छ- के हामीले सदा सर्वदा कामरेड प्रचण्डको उथलपुथल ब्यहोरिरहनु पर्नेछ ?
प्रचण्डले भनेको सही हो, राजनीतिक उथलपुथलका लागि नेपाली नागरिक मानिसकरुपमा तयार भएर बसे हुन्छ ।
प्रचण्ड आफैंले बेलिविस्तार लगाएका छन्, उनी बाँचुन्जेल सत्ताको केन्द्रमा बस्न चाहान्छन् । र, त्यसका लागि उनले यो देशमा उथलपुथल गराइरहनेछन् ।
प्रचण्डले भनेका छन् मलाई उपयोग र घेराबन्दी गर्न जोखियो भने जुनसुकै बेला प्रतिक्रियावादीहरुलाई लात्ताले हानेर हिँड्छु ।
उनी त्यतिमामात्रै रोकिएनन् । प्रचण्ड दुबै खुट्टाले हिँड्न जान्ने प्राणी भएको दाबी गरे ।
‘म राइट लाग्यो भने राइटै राइट र लेफ्ट लाग्यो भने लेफ्ट नै लेफ्ट हिँड्ने स्थिर व्यक्ति हुँदै होइन,’ प्रचण्डले भनेका छन्, ‘आफ्नो लक्ष्यमा पुग्न दुईटै खुट्टाले हिँड्छु । कहिले राइट त कहिले लेफ्ट ।’
उनले छिटो छिटो साथीसंगी फेरिरहने कुरालाई समाजले अस्थिरता बुझेको छ । तर, उनी आफू अस्थीर नभइ गतिशिल भएको बताउँछन् ।
‘म तलाउ जस्तो जमेर बसिरहने स्थिर होइन, नदिजस्तो गडगडाएर बग्ने गतिशील हूँ,’ उनले बारम्बार भन्ने गरेका छन् ।
राजनीतिमा राइट-लेफ्ट र गतिशीलको धेरै ठूलो अर्थ हुन्छ । यो शब्द बुझ्नेलाई श्रीखण्ड र नबुझ्नेलाई खुर्पाको बिँड हो ।
जसरी भएपनि सत्तामा बसिरहनु प्रचण्डको एकशुत्रीय लक्ष्य हो भन्ने कुरा अब जो कोहीले पनि सहजै अनुमान गर्ने विषय हो ।
नेपाली कांग्रेससँग एक वर्ष बढीको सत्ता गठबन्धन तोडेर केपी शर्मा ओलीको एमालेसँग गठबन्धन गरेकै दिन २०८० फागुन २० गते प्रचण्डले यो कुरा कांग्रेस सभापति शेरबहादुर देउवालाई होइन, ओलीलाई भनेका हुन् । किनभने त्यो दिन देउवालाई जेसुकै सुनाउनु वा नसुनाउनुको कुनै अर्थ थिएन, सम्वन्ध विच्छेद भई नै सकेको थियो । गठबन्धन भएकै दिन उनले ओलीलाई सचेत बनाउँदै भनेका थिए- तिमीले केही गडबड गर्न खोज्यौ भने फेरि उथलपुथल गरिदिनेछु । यो कुराको तिमीले सधैं हेक्का राखिरहनुपर्छ ।
राजनीतिक रियाक्सनका बादशाह मानिने ओलीले प्रचण्डको यो चेतावनीलाई भने सुनेको नसुने झैं गरेका छन् । यीनलाई थाहा छ- प्रचण्डले जुनसुकै बेला धोका दिन सक्छन् । र, यसो गर्नुमा उनलाई अब कुनै राजनीतिक लज्जाबोध बाँकी छैन ।
फागुन २४ गते संघीय संसदमा प्रचण्डले दिएको बयानबाट स्पष्ट हुन्छ- कांग्रेससँग उनको खासै समस्या थिएन । उनले कांग्रेसमाथि जे-जे आरोप लगाएका छन्, चित्त नबुझ्दाको घरी यस्ता आरोप जसले जसलाई लगाए पनि हुने खालका छन् । प्रचण्डको यो बयानबाट एउटा कुरा थप स्पष्ट भएको छ- कांग्रेसको समर्थनमा प्रधानमन्त्री पदमा रहने दिन सकिनै लागेपछि उनले प्रधानमन्त्री पदमा कायमै रहने जुक्ति निकालेका हुन् । सत्ताको आशक्तिबाहेक कांग्रेससँगको गठबन्धन तोड्नुको अर्को कुनै कारण थिएन ।
त्यसैले उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘बेहोस’ बनाउँदै ओलीसँग कुम जोड्न पुगे । कांग्रेसका मन्त्रीहरुको पर्फर्मेन्समाथिको प्रश्नदेखि चुनावमा माओवादीले भोट नपाएको र कांग्रेस महासमिति बैठकमा हिन्दू स्टल राखेका आरोपहरू सबै तपसिलका विषय हुन् ।
भारत भ्रमणमा गएका बेला गेरू बस्त्रधारी बाबा बनेर भारतीय हिन्दू राजनीतिको सेवा गरेका प्रचण्डले कांग्रेस महासमितिमा हिन्दू स्टल राखेर संविधानको पालना नगरेको आरोप लगाउनु आफैंमा उदेगलाग्दो बिषय हो ।
कांग्रेस सचेतक रमेश लेखकले प्रचण्डप्रति व्यङ्ग गर्दै भनेका छन्- देशमा उथलपुथल मच्चाउने प्रचण्डको गतिशिलता यही गतिमा कायम रहेमा अर्को चुनाव आउनुअघि २०८४ सम्ममा १३ पटक गठबन्धन फेरिनेछ । उनले यो आरोप लगाउनुमा गणितकै हिसाब राखेका छन् ।
माओवादीले २०७९ मा कांग्रेससँग गठबन्धन गरेर चुनावमा गयो । जसको परिणाम कांग्रेसका लागि ८९ सीट र माओवादीका लागि ३२ सीट प्राप्त भयो । माओवादीको ३२ सीटमध्येको १ सीटको योगदानकर्ता भने माओवादीका पूर्वकामरेड एवं जसपाका नेता डा. बाबुराम भट्टराईको थियो । उनले आफुले चुनाव जित्ने निश्चित रहेको गोर्खाको निर्वाचन क्षेत्र आफ्ना पूर्वकमाण्डर एवं माओवादी अध्यक्ष प्रचण्डलाई समर्पण गरेका थिए । यसो गरेर प्रचण्डसँग पुनः सहकार्य अगाडि बढाउने र आफ्नो राजनीतिलाई ट्र्याकमा ल्याउन सकिएला कि भन्ने आशा उनमा थियो । तर, अहिले उनी प्रचण्डका उथलपुथललाई हेरेको हेर्यै छन् । यो गुनको बदला कामरेड प्रचण्डले राजनीतिको उत्तरार्धमा आफ्ना पूर्वसहकर्मी डा. बाबुरामलाई करिब-करिब बिचल्ली बनाइदिएका छन् जबकी चुनावी परिणामले प्रष्ट पारिदिएको छ- डा. भट्टराईले आफ्नो सीट नछोडेको भए प्रचण्ड सायद संसदमै हुने थिएनन् ।
तर, प्रचण्डको भाग्य दैब नजाने …।
यो अवस्थामा कांग्रेसँग गठबन्धन गरेर संसदमा तेस्रो शक्तिका रुपमा स्थापित भएपछि उनले प्रधानमन्त्री आफैं बन्नुपर्ने दलिल अगाडि सारे । राजनीतिमा लाज र घिन भन्ने शब्दावली हुँदैन होला । यदि हुन्थ्यो भने आफ्नोभन्दा झण्डै तेब्बर सीटमा चुनाव जितेको कांग्रेसलाई प्रधानमन्त्री नदिएर आफैं हुन्छु भन्ने भन्ने हिम्मत प्रचण्डमा हुने थिएन । तर, नेपालको राजनीतिले यो सबै पचाइसकेको छ । त्यसैले प्रचण्ड आफुलाई जसले प्रधानमन्त्री बनाउँछ उसैसँग गठबन्धन गर्ने एउटा नीति र नैतिकताबिहिन राजनीतिको च्याँखे दाउँमा आफुलाई राखिदिए । कांग्रेस र माओवादी मिल्दा सत्ताबिमुख हुनुपर्ने एमालेले त्यो च्याँखेदाउ स्विकार गर्यो र प्रचण्ड देशको प्रधानमन्त्री बने ।
सत्ता हात परेको दुई महिनामा प्रचण्डलाई देशमा फेरि उथलपुथल गर्न मन लाग्यो । राष्ट्रपति चुनावको मुखमा प्रचण्डले ओलीलाई शक्तिशाली बन्न नदिएर पावर सेयरिङ गराईदिने रणनीतिमा लागे । माओवादीले राष्ट्रपति पद नपाउने अवस्थामा उनले ओलीलाई धोका दिँदै कांग्रेससँग गठबन्धन गर्न तयार भए । परिणामत नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बन्ने शौभाग्य प्राप्त भयो । कांग्रेससँगको यो सहकार्यलाई एक वर्ष स्थिर बनाउँदै प्रचण्ड अर्को संवैधानिक पद राष्ट्रिय सभाका अध्यक्षको चुनावको मुखसम्म आइपुग्यो ।
प्रधानमन्त्री पदबाट हट्नु परेको समयमा संवैधानिक नियुक्तिहरूमा बाँडफाँटका लागि माओवादीलाई संवैधानिक परिषदमा आफ्नो उपस्थिति अनिवार्य थियो अन्यथा यस्ता नियुक्तिहरूको मोलमोलाईको अधिकार कांग्रेस र एमालेले मात्रै आफ्नो अधिनमा पार्ने थिए । शान्ति प्रकृयामा योगदान पुर्याएका नेता मात्र नभएर भारतीय पक्षको सदावहार आर्शिवाद प्राप्त गर्न सफल नेताका रुपमा चिनिने कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष पद दिने कुरामा प्रचण्ड करिब-करिब सहमत जस्तो देखिन्थे किनभने सिटौला कांग्रेसका नेता भए पनि उनी प्रचण्डका लागि पनि उत्तिकै सेवामा जुट्न सक्नेछन् भन्ने विश्वास दिलाएका नेता हुन् ।
प्रचण्डले २०७९ को निर्वाचनको गठबन्धन समेतलाई आधार मान्दा १५ महिनामा चारवटा गठबन्धन बनाइसकेका छन्। कांग्रेस नेता लेखकले प्रचण्डको उथलपुथलको गणितको सुत्र यसै हिसाबलाई बनाएका हुन् । संसदको फोरमबाट लेखकले प्रचण्डलाई प्रश्न गर्दै चेतावनी दिए भने- माओवादी र प्रचण्डबाट धोका पाएका शक्तिहरु एक ठाउँमा उभिएका दिन तपाईंको हालत कस्तो होला ? एउटा कुनै बिन्दूमा अवश्य पनि त्यस्तो दिन आउने छ ।
तर, त्यो भन्दा पहिला नेपालको राजनीतिमा के हुन सक्ला भनेर केही अनुमान गर्न सकिन्छ ।
अब के हुनेछ ?
प्रचण्डको उथलपुथलको रणनीतिको एकमात्र लक्ष्य छ- २०८४ सम्म सत्तामा बसिरहने । २०८४ को चुनावमा फेरि गठबन्धन गरेर मात्रै चुनाव लड्न जाने । कांग्रेस, एमाले, समाजवादी, रास्वपा, राप्रपा, राजपाहरूलाई आफ्नो वरिपरि घुमाइरहने । कांग्रेससँगको सहकार्य तोडेर देउवालाई चरम धोका दिएपछिको पहिलो संसदको सम्बोधनमा प्रचण्डले देउवाप्रति माया पिरतीको भाका प्रयोग गरिसकेका छन्- देउवाजीसँग मेरो अगाध मित्रता छ । व्यक्तिगत रुपमा हामी अन्तरंग मित्र हौं भन्ने भाषाका साथमा । देउवालाई धोका दिएको र ओलीसँग सत्ता सहकार्य अगाडि बढाएको एकाध दिनमै प्रचण्डले देउवाप्रति माया पिरती लगाउन शुरू गरिसकेको छन् । यसको अर्थ हो- ओलीसँग सत्ता सहकार्य धरमराउनासाथ प्रचण्डको पिरती देउवासँग शुरू हुनेछ ।
प्रचण्डको मिशन २०८४ सम्म जे जस्ता हतकण्डा अपनाएर भए पनि प्रधानमन्त्रीको कुर्सीमा बसिरहनु हो भन्दा अत्युक्ति हुँदैन । यसका लागि उनका न कुनै राजनीतिक शत्रु छन् न राजनीतिक मित्र नै । मात्र छन् त रणनीतिक उपयोगका पात्रहरू मात्रै ।
त्यसैले प्रचण्ड निकट भविष्यका दिनहरुमा ओलीका यति निकटका मित्रजस्ता देखिनेछन् कि त्यो देख्दा कांग्रेसी नेताहरु इश्र्याले जल्ने अवस्था आउनेछ । उनको लक्ष्य ओलीलाई शान्त राख्दै आफ्नो प्रधानमन्त्री पदलाई लम्ब्याइरहनु हो । सार्वजनिक मिडियामा आए अनुसार प्रचण्डले ओलीसँग दुई/दुई वर्ष प्रधानमन्त्री पद बाँडेर खाने सहमति गरेका छन् । त्यसैले उनी पहिलो दुई वर्ष सकेसम्म आनन्दले सत्ता चलाउने रणनीतिमा हुनेछन् ता कि आफ्नो भाग लागेको कार्यकालमा ओलीबाट डिस्टर्ब नहोस्। पाँचै बर्ष सत्ताविमुख हुन लागेका ओलीका लागि पनि प्रचण्डको कृपामा दुई वर्ष प्रधानमन्त्री पद प्राप्त हुन लागेको अनुभूति गर्न पाउँनु कम सुखद विषय होइन । त्यसका साथै अहिले नै पनि पार्टीका नेताहरूलाई सरकारमा पठाएर ओलीले सत्ताको स्वाद लिन पाएका छन् ।
जब दुई बर्षको कार्यकाल पुरा हुन लाग्नेछ, त्यसपछि शुरू हुनेछ प्रचण्डको उथलपुथलको राजनीति । प्रचण्डले प्रारम्भमा ओलीसँग नै थप एक वर्ष पदावधी लम्ब्याउन ओलीसँग नै बार्गेनिङ गर्नेछन् । यदि ओली सहजरुपमा प्रस्तुत भए ठिकै छ, नत्र कांग्रेस छदैछ जसको तयारी उनले देउवासँगको मायावी सम्वन्धको ब्याख्या गरेर अहिले नै शुरू गरिसकेका छन् ।
आगामी दुई वर्षसम्मको समयावधी कल्पना गर्नुस् त- कांग्रेसका नेताहरू दुई बर्ष सत्ता बाहिर बस्नुपर्दा उनीहरूको अवस्था सत्ताको अभावमा काकाकुल जस्तो आकुल-ब्याकुल बनिसकेका हुनेछन् । त्यो बेला प्रचण्डले फेरि सत्ता सहकार्यका लागि प्रस्ताव राख्नु भनेको कांग्रेसका लागि मरूभुमिमा झरी पर्नु जत्तिकै महाउत्सब हुनेछ । त्यो बेला प्रचण्डले भन्नेछन्- मलाई प्रधानमन्त्रीमा स्विकार गर्ने हो भने कांग्रेससँगको गठबन्धन गर्न म तयार छु । ती दिनको एकपटक कल्पना गर्नुस् त कांग्रेसी नेताहरू प्रचण्डको यो प्रस्तावको खुसीमा पागल बन्नेछन् । कांग्रेसका लागि फेरि सत्तामा जान पाउनु इतिहासको अर्को उपलब्धी साबित हुनेछ ।
कांग्रेस र सत्ताको सम्बन्ध यति गहिरो छ कि राजा ज्ञानेन्द्रले निरंकुश सत्ता चलाइरहँदा पनि राजाको सरकारमा जानुपर्छ भनेर कांग्रेसका गिनेचुनेका नेताहरूले चर्को लबिङ गरिरहेका थिए, भलै ज्ञानेन्द्रले कांग्रेसलाई नपुछेका कारण कांग्रेसको अर्को पाटोको इतिहास लेखिन पाएन ।
अर्को सम्भावना के छ भने प्रचण्डको यो उथलपुथलको राजनीतिले केही समयमा केपी ओली बिरक्तिन सक्छन् जसरी अहिले अहिले देउवा बिरक्तिएका छन् । त्यो बेलामा देशमा ‘लोकतन्त्र जोगाउन र अतिवादीहरुलाई तह लगाउन’ कांग्रेस एमालेको गठबन्धन बन्नसक्छ । कांग्रेस आजै ओलीलाई प्रधानमन्त्री बनिदेउ भन्ने अफर दिइसकेको छ तर ओली विबक्तिँदासम्म ओलीले देउवालाई कृपया प्रधानमन्त्री बनिदेउ भन्ने अवस्था पनि आउन सक्छ जसरी माधव नेपाल, प्रचण्डले देउवालाई प्रधानमन्त्री बनिदिनुस् भनेर बिन्ती गर्नु परेको थियो । त्यो दिन आउन नदिन प्रचण्डले फुकी फुकी कदम चाल्नेछन् । तर टार्न सकेनन् भने उनले राष्ट्रवादको राजनीतिलाई आफू प्रधानमन्त्री पदमा रहेकै समयमा दुर्गा प्रसाईंको छत्रछायामा हुर्काइरहेका छन् ।
आफ्नो प्रधानमन्त्री पद गुम्ने अवस्था आइलाग्यो भने उनलाई देश संकटमा परेको अनुभूति हुनेछ र त्यो दिन राष्ट्रबादी शक्तिहरूले देश बचाउनु पर्ने निष्कर्ष निस्किने अनुमान गर्न सकिन्छ । हुनसक्छ, त्यो राष्ट्रवादी मोर्चाको अभिभावक पूर्वराजा ज्ञानेन्द्र शाह मानिनेछन् । पार्टी, लोकतन्त्र र गणतन्त्रभन्दा माथि आखिर राष्ट्र हो । राष्ट्र नै संकटमा पर्ने अवस्था आयो भने प्रचण्ड जस्ता लचकदार नेताले उथलपुथल गर्दै यो निर्णय लिन पनि कत्ति बेर लाग्ने छैन । बरु संवैधानिक राजतन्त्रको अभिभावकत्वमा यो देशको लोकतन्त्रको अस्तित्व बचाउनु किन नपरोस् त्यो जोगाउने प्रधानमन्त्री भने कामरेड प्रचण्ड हुनेछन् । तर, प्रचण्डले सहजरुपमा प्रधानमन्त्रीको पद भने त्याग्ने छैनन् ।
के यो विश्लेषण निराधार हो ?
निराधार हो भन्ने तपाईँलाई लाग्छ भने एकाध घण्टा दुर्गा प्रसाईंको राजनीति बुझ्ने कोशिस गर्नुस्, प्रचण्ड र प्रसाईंको सम्बन्धलाई केलाउनुस् अनि माथिको विश्लेषणले तपाईँको मनमा चिसो पस्नेछ । अहिले दुर्गा प्रसाईं राजतन्त्र फर्काउने अभियानमा छन् । प्रचण्डलाई सडकमा मच्चिएको यो अराजकता संवैधानिक लागेको छ त्यसैले त उनले दुर्गा प्रसाईंको अभियानका लागि सिंगो काठमाडौ र सिंगो देश सहज उपलब्ध गराइदिएका छन् ।
तर, कांग्रेस महासमिति बैठकमा हिन्दूत्वको पक्षमा हस्ताक्षर गर्नेहरू संविधान विरोधी लागेका छन् त्यसैले गठबन्धन तोडेको भन्दैछन् । प्रसाईंले देशको अर्थतन्त्र र वित्तीय व्यवस्थामाथि खुलेआम धावा बोलेका छन् तर प्रधानमन्त्री प्रचण्डले यो सब केही देख्दैनन् । बरु देशका बैंकहरु रातारात धराशयी बनून् । प्रसाईंले देशको अर्थतन्त्र थामेका उद्यमी व्यवसायीलाई गैरकानूनी रुपमा खुलेआम तस्करको बिल्ला भिराएर सार्वजनिक प्रदर्शनी गरिरहेका छन् तर प्रधामन्त्री प्रचण्डले यो सब देख्दैनन् । उनलाई केही थाहा हुँदैन । देशका लब्धप्रतिष्ठित उद्यमी व्यवसायी जसको राजश्वबाट देशको अर्थतन्त्र चल्छ उनीहरूमाथि नै काठमाडौंमा र झापामा गैरकानूनी रुपमा निर्मम प्रहार र अपमान भइरहेको छ तर प्रचण्ड सरकार यो सब गर्ने छुट प्रसाईंलाई दिइरहेको छ । दुर्गा प्रसाईंलाई राजनीतिक एजेण्डा उठाउने अधिकार पक्कै पनि रहन्छ ।
तर अर्थव्यवस्थामाथि प्रहार गर्दै अराजकता मच्चाउने छुट भने नेपालको इतिहासमा पहिलो पटक उनले पाइरहेका छन् । सडकबाट यो अराजकता मच्चाएका प्रसाईंले प्रधानमन्त्री प्रचण्डको मुक्त कण्ठले प्रशंसा गर्छन् । तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई देशको नायक मान्छन् । र, सरकारले प्रसाईंको व्यवहारलाई देशब्यापी फैलाउन वातावरण बनाइदिन्छ । यदि उथलपुथलको राजनीति भइरहेको थिएन भने फलानो बैंक डुब्छ, फलानो व्यापारी तस्कर हो भन्दा प्रसाईं कानूनी दायरामा आइसहेका हुने थिए ।
यी दुई राजनीतिको भेट कहाँ हुनेछ ? यी दुई राजनीतिको गठबन्धन कहिले बन्नेछ ?
जुन दिन कांग्रेस, एमालेले प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउने गृहकार्य थाल्नेछन् त्यो दिन प्रचण्डको गठबन्धन दुर्गा प्रसाईसँग हुनेछ । र, पूर्वराजा ज्ञानेन्द्र शाहसँग हुनेछ ।
आखिर राजनीतिको अन्तिम प्रलयअघिको रोदन राष्ट्रबाद नै हुनेछ ।
त्यो दिन प्रचण्डले भन्नेछन्- यो देशमा सच्चा राष्ट्रबादी भनेको कि माओवादी हुन् कित राजाबादी । अरु त सबै विदेशी दलाल ।
र, त्यो दिन नेपालको इतिहासमा प्रचण्डले गरेको अर्को राजनीतिक उथलपुथलका रुपमा दर्ज हुनेछ ।