वायुसेवा निगमको व्यवस्थापन करारमा दिने तयारी



काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापन करारमा दिने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वायुसेवा निगमको पुनःसंरचनाका निम्ति करार व्यवस्थापनमा जाने प्रक्रिया अगाडि बडाइएको जानकारी दिए ।

प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री किराँतीले त्यसका लागि मन्त्रालयमा प्रस्ताव पठाएको जानकारी दिए ।

‘निगमको पुनःसंरचनाका निम्ति अब करार व्यवस्थापनमा जानैपर्ने देखिएकाले हामी यो प्रणालीमा जाने तयारीमा छौँ’, उनले भने, ‘करार व्यवस्थापनका निम्ति मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेको छ । छिट्टै यस विषयमा निर्णय हुनेछ ।’

मन्त्री किराँतीले आवश्यक अध्ययन र सरोकारवालाको सुझावका आधारमा वायुसेवा निगमलाई करार व्यवस्थापन प्रणालीमा लगेर निगमको सुधार गर्नुपर्ने अपरिहार्यता भएको जिकिर गरे । उनले विभिन्न देशमा व्यवस्थापन करार प्रणाली प्रभावकारी देखिएकाले नेपालले पनि यो अभ्यास अवलम्बन गर्दा उपयुक्त हुने धारणा राखे।

पर्यटनमन्त्री किराँतीले वायुसेवा निगम अहिलेकै अवस्थामा सञ्चालन हुन नसक्ने निष्कर्षमा मन्त्रालय पुगेको भन्दै निगमलाई नयाँ ढङ्गले संरचनागत सुधार गरेर लैजाने योजना बनाइएको जानकारी दिए ।

सांसद प्रकाशमान सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार गरिनुपर्ने धारणा राख्दै आवश्यक अध्ययन गरेर मात्रै विमानस्थल निर्माण गरिनुपर्ने बताए । सांसद उदयशमशेर जबराले निगममा भएका जहाजको प्रभावकारी सञ्चालन गर्नुका साथै नयाँ जहाज थपेर अन्तर्राष्ट्रिय बजारमा दरिलो उपस्थिति जनाउन जरुरी भएको उल्लेख गरे ।

सांसद डा धवलशमशेर जबराले करार व्यवस्थापनमा लगेर वायुसेवा निगम सुधार्ने योजना उपयुक्त भए पनि यसको औचित्यता र सान्दर्भिकतालाई ध्यान दिएर अघि बढ्नुपर्नेमा जोड दिए । सांसद सुनिता बरालले वायुसेवा निगमको विद्यमान स्रोत साधनको भरपुर उपयोग गर्दै हालको अवस्थालाई सुधारेर सेवालाई प्रभावकारी बनाउन जरुरी रहेको बताइन् ।

सांसद शिशिर खनालले निगमको जहाज बारम्बार ग्राउण्डेड हुनेगरेको समाचार सञ्चारमाध्यममा आइरहेको भन्दै प्राविधिक मर्मत गर्दै उडान सेवालाई प्रभावकारी बनाउन आग्रह गरे । सांसद प्रेम सुवालले निगमको व्यवस्थापन करार दिन नहुने धारणा राख्दै विद्यमान अवस्थालाई सुधार गर्न सबै जिम्मेवार बन्नुपर्ने बताए ।

सांसद दामोदर पौडेल बैरागीले निगमलाई प्रतिस्पर्धी बजारमा खरो रुपमा उर्तानुपर्नेमा जोड दिए । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले जहाज थपेर अन्तर्राष्ट्रिय उडानका गन्तव्य विस्तार गर्नेतर्फ लागिरहेको जानकारी दिए ।

तीन जहाज खरिद गरिने

पर्यटनमन्त्री किराँतीका अनुसार निगमले आन्तरिकतर्फका दुर्गम क्षेत्रका विमानस्थलमा उडानका लागि तीन थान ट्वीनअटर जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । आन्तरिक उडानका लागि तीन थान एटीआर–७२ र अन्तर्राष्ट्रिय उडानका तीन थान न्यारोबडी जहाज लिज प्रक्रियाबाट ल्याउने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । निगमसँग हाल आन्तरिक उडानका लागि दुई थान न्यारोबडी ए ३२० र दुई थान वाइडबडी ए ३३० जहाज छन् ।

निगम र विमानस्थल सुधारको प्रतिवेदन पेश गर्न निर्देशन

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले वायुसेवा निगम र विमानस्थल सुधारबारे हालसम्म भएका अध्ययन र प्रयाससहितको प्रतिवेदन समितिसमक्ष पेश गर्न निर्देशन दिएको छ ।

समितिका सभापति राजकिशोर यादवले निगम तथा विमानस्थलको सुधारलगायत समग्र विषयमा के कस्ता अध्ययन/अनुसन्धान भएका छन् तिनको प्रतिवेदन समितिमा पेश गर्न पर्यटन मन्त्रालय र वायुसेवा निगमलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए ।

बैठकमा नेपाल वायुसेवा निगमको जहाजमा देखा परेका समस्या तथा प्राविधिक विषयका सम्बन्धमा पर्यटनमन्त्री, सचिव र निगमका कार्यकारी अध्यक्षसँग छलफल भएको छ ।

निजगढ विमानस्थल निर्माणमा जोड

पूर्वप्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपालले बाराको निजगढमा प्रस्तावित निजगढ विमानस्थल निर्माणमा विलम्ब भइरहेको भन्दै चाँडो निर्माण प्रक्रिया अगाडि बढाउन सरोकारवालाको ध्यानाकर्षण गराए । उनले भैरहवा र पोखरा विमानस्थलको प्रभावकारिता नदेखिएको भन्दै निजगढ विमानस्थल उपयुक्त भएकाले यसको निर्माण गर्नुको विकल्प नरहेको उल्लेख गरे ।

नेपालले भने, ‘धेरै पहिलादेखि निजगढ विमानस्थलको कुरा उठिरहेको थियो । देशलाई विकास र समृद्धिको यात्रामा अघि बढाउन निजगढ विमानस्थल बनाउनुको विकल्प नै छैन ।’ उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले धेरै पटक छलफल र स्थलगत अध्ययन गरेर निजगढमा विमानस्थल निर्माण गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको स्मरण गराए ।


क्लिकमान्डु