रुकुमपश्चिमबाट ९ करोडको अदुवा बिक्री
रुकुमपश्चिम । व्यावसायिकरूपमा अदुवाखेती गर्नुभएका रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट राम्रो आम्दानी भएको बताए ।
गत वर्षको भन्दा यस वर्ष अदुवाले दोब्बर मूल्य दिँदा बिक्रीबाट एक लाख आम्दानी भएको उनको भनाइ थियो । विगत २० वर्षदेखि अदुवाखेतीमा लागेका खड्काले निरन्तर अदुवाखेती गर्दै आएका छन् ।
यस वर्ष उत्पादन भएको तीन क्विन्टलभन्दा बढी अदुवा बीउको लागि र १२ क्विन्टल अदुवा प्रतिक्विन्टल चार हजारदेखि आठ हजारका दरले बिक्री गरेको खड्काले बताए ।
सोही ठाउँकै ५५ वर्षीय किसान हरिबहादुर खड्काले यस वर्ष अदुवा उत्पादनमा केही कमी भए पनि मूल्य भने राम्रो पाइएकामा भने खुसी भएको बताए । विगत ३० वर्षदेखि निरन्तर कृषि पेसा गर्दै आएका उनले यस वर्ष अदुवा बिक्रीबाट एक लाख ५० हजार आम्दानी गरेको बताए ।
अदुवा गाउँबाटै खैन (खानका लागि प्रयोग) प्रतिक्विन्टल चार हजार र बीउको लागि प्रयोग हुने अदुवा प्रतिक्न्विन्टल आठ हजारदेखि १० हजार रुपैयाँसम्ममा बिक्री भएको थियो ।
जिल्लामा यस वर्ष किसानले उत्पादन गरेको अदुवाले राम्रो मूल्य पाए पनि गत वर्षको तुलनामा यस वर्षमा उत्पादनमा भने कमी आएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार उत्पादनमा कमी भए पनि अदुवाको मूल्य तेब्बरले वृद्धि हुँदा किसानले गत वर्षको भन्दा राम्रो आम्दानी गरेका हुन् । गत वर्ष प्रतिक्विन्टल दुई हजार पाँच सयमा अदुवा बिक्री गरेका किसानले यस वर्ष प्रतिक्विन्टल पाँच हजारदेखि आठ हजारसम्ममा बिक्री गरेका छन् ।
जिल्लामा मुख्यगरी त्रिवेणी गाउँपालिकामा राम्रो अदुवा उत्पादन हुने गरेको छ । त्यस्तै सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र आठबीसकोट नगरपालिकामा पनि केही मात्रामा अदुवा उत्पादन हुने गरेको निमित्त प्रमुख केसीले जानकारी दिए ।
यस वर्ष जिल्लाबाट एक हजार छ सय मेट्रिक टन अदुवा बिक्री हुँदा आठ करोड ८० लाख आम्दानी भएको छ भने अझै केही अदुवा बिक्री गर्न बाँकी छ ।
अदुवा उत्पादनबाट ४० हजारदेखि पाँच लाख रुपैयाँसम्म किसानले आम्दानी गर्ने गरेको उनले बताए । अदुवा उत्पादन गर्ने किसानको सङ्ख्या जिल्लामा चार सय हाराहारीमा भए पनि व्यावसायिकरूपमा अदुवाखेती गर्ने किसानको सङ्ख्या ६० देखि ७० रहेको निमित्त प्रमुख केसीले जानकारी दिए ।
सामान्य खेती गर्ने किसानले दुई रोपनीदेखि व्यावसायिकरूपमा खेती गर्ने किसानले ३० रोपनी जग्गामा अदुवाखेती गर्ने गरेका छन् ।
‘गत वर्ष जिल्ल्लामा प्राङ्गारिक कृषक प्रमाणित भएका तीन सय एक किसानले उत्पादन गरेको अदुवा सुर्खेतमा रहेको द अग्र्यानिक भ्यालीसँग समन्वय गरेर कृषि विकास कार्यालयले बिक्री गरेको थियो । यस वर्ष भने व्यापारीले किसानकै बारीमा आएर अदुवा खरिद गरेकाले बजारको समस्या भएन । किसानले आफैँ राम्रो मूल्यमा अदुवा बिक्री गरेका छन्’, उनले भने । जिल्लामा उत्पादन भएको अदुवा दाङ, नेपाजगञ्ज र काठमाडौँसम्म जाने गरेको छ ।
अदुवा लगाएको निश्चित समय नपुग्दै साउनको अन्तिममा बुर्णा (नयाँ तयार नहुँदै निकालिएको पुरानो बीउ) निकाल्नुपर्नेमा असारमै निकालेको यस वर्ष अदुवा उत्पादनमा कमी आएको उक्त कार्यालयको भनाइ थियो ।