साल्ट ट्रेडिङको म्याद नाघेको ८०० बोरा मल बरामद



काठमाडौं । सल्यानको शीतलपाटीमा रहेको साल्ट ट्रेडिङ कर्पोरसन लिमिटेड शाखाको डिपोमा म्याद गुज्रिएको मल फेला परेको छ ।

शुक्रबार कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले डिपोमा अनुगमन गर्दा म्याद गुज्रिएको ८०० बोरा ‘खेती शक्ति’ नामक मल फेला परेको हो ।

म्याद गुज्रिएको मल तत्काल नष्ट गर्ने प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न मन्त्री शर्माले निर्देशन दिए । डिपोले मल छैन भन्दै कृषकलाई बिक्री नगरेको र बिग्रेको मल दिने गरेको गुनासो प्राप्त पछि मन्त्री शर्माले अनुगमन गर्दा अहिले साल्ट ट्रेडिङ कर्पोरेसनको डीएपी ४ हजार बोरा बढी र युरिया ३५ सय बोरा बढी मल रहेको भेटिएको हो ।

‘कृषक मलका लागि भौँतारिएको फाइदा उठाउँदै डिपोले राम्रो मलभन्दा म्याद नाघेर बिग्रेको मल बिक्री गर्ने गरेको रहेछ’, मन्त्री शर्माले भने, ‘त्यो लगायत बिक्री भइसकेको मल समेत फिर्ता ल्याएर नष्ट गर्न निर्देशन दिइएको छ ।’


क्लिकमान्डु