महाकाली करिडोरले जगाउँदैछ धार्मिक पर्यटनको आशा



कञ्चनपुर । महाकाली करिडोरको ट्र्याक खुलेपछि कञ्चनपुरको ब्रह्मदेव हुँदै जोगबुढा परशुराम धाम जानेको जोडबल र तयारी तीव्र छ । डडेल्धुराको धार्मिक पर्यटकको महत्वपूर्णस्थल परशुराम धाममा हरेक वर्ष माघे सङ्क्रान्तिका दिन मकर मेला लाग्ने गर्दछ ।

स्कन्दपुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागिरि मन्दिरमा सतीदेवीको पूर्ण अंग पतनपछि भगवान् शिव आएर परशुराम धाममा लामो समय तपस्या गरेका थिए । त्यसपछि ईश्वरी अवतारका लागि यही पुण्य भूमिमा परशुराम अवतार भएको किंवदन्ती छ ।

विगतमा मेला भर्न कञ्चनपुरलगायत तराईका जिल्ला र भारतीय श्रद्धालु भक्तजनलाई त्यहाँ पुग्न घण्टौँको यात्रा गर्नुपर्ने बाध्यता महाकाली करिडोरअन्तर्गत ब्रह्मदेव (शून्यबिन्दु) देखि जोगबुढासम्म ट्र्याक खुलेपछि अन्त्य भएको छ । कञ्चनपुरदेखि दार्चुलाको उत्तरी नाकासम्म जोड्ने महाकाली करिडोरअन्तर्गत लामो समयपछि कञ्चनपुर-डडेल्धुराको यात्रा करिडोरकै कारण सहज हुनुका साथै यात्रुलाई समयको पनि बचत हुँदैछ ।

ब्रह्मदेवदेखि दार्चुलाको उत्तरी नाका तिङ्कर भञ्ज्याङसम्म चार सय १३ किमी सडक करिडोरअन्तर्गत १३ वर्षदेखि निर्माणाधीन छ । नेपाल-भारत र चीनसितको त्रिदेशीय नाकाकारुपमा विकास गर्ने योजनासहित अघि सारिएको करिडोरअन्तर्गत ब्रह्मदेवदेखि १५ किमीसम्म ट्र्याक खुलिसकेको छ ।

करिडोरअन्तर्गत तीन सय ३४ योजना कार्यालय र ७९ किमी खण्ड ट्र्याक खुलाउने कामको जिम्मेवारी नेपाली सेनाले निर्वाह गरिरहेको छ । सुदूरपश्चिमकै व्यापारिक मात्र नभई करिडोर धार्मिक पर्यटनको पनि सेतु बन्नेमा आशा पलाएको छ । यहाँबाट करिडोरअन्तर्गत ब्रह्देवको सिद्धवैजनाध धार्मिक क्षेत्रदेखि जोगबुढाको परशुराम धाम हुँदै उत्तर चीनको कैलाश मानसरोवरजस्ता महत्वपूर्ण धार्मिक गन्तव्यमा जान सहजता मिल्नेछ ।

चुरे पर्वत शृंखला र महाभारत पर्वतसँगै भारतको पूर्णागिरि पर्वतको मध्यभागमा रहेको परशुराम धाम डडेल्धुरा सदरमुकामदेखि झण्डै एक सय किमीको दूरीमा पर्छ । कञ्चनपुरको महेन्द्रनगरबाट ३६ किमीको दूरीमा रहेको परशुराम धाममा भारतीय धार्मिक पर्यटकका लागि पनि आवागमनमा सहज हुने भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले महाकाली करिडोर बने यहाँको आर्थिक क्षेत्रको विकाससँगै धार्मिक पर्यटनलाई सहयोग पुग्ने बताए । ‘भारतीय धार्मिक क्षेत्र पनि दूरीका हिसाबले महेन्द्रनगरबाट नजिक छन्,’ मल्लले भने, ‘करिडोरले नेपाल र भारतका धार्मिक पर्यटकीय क्षेत्रलाई ‘सर्किट’का रुपमा विकास गर्ने खालका योजना ल्याउन आवश्यक छ ।’

उनले डडेल्धुराको परशुराम क्षेत्रमै पर्ने परिगाउँमा महाकाली नदीमा पक्की पुल निर्माणको प्रक्रियागत काममा ढिलाइ हुन नहुने बताए । ‘परिगाउँमा पुल बने पारी पूर्णागिरिसित परशुराम धार्मिक क्षेत्र अझ निकट हुँदा धार्मिक गतिविधिमा थप मलजल मिल्छ,’ उनले भने, ‘महाकाली करिडोर धार्मिक पर्यटकको सहजताका लागि निकै उपयोगी बन्नेछ ।’

त्यसैगरी परशुराम नगरपालिका-७ साँदनीका ६५ वर्षीय उज्ज्वलदत्त भट्टले करिडोरअन्तर्गत गाउँमा ट्र्याक खुलेपछि ब्रह्मदेवबाट मोटरसाइकल र जिप आउन थालेको बताए । ‘कुनै समय दिनभरि हिँडेर महेन्द्रनगर र भारतको टनकपुरसम्म पुगेर कुटानीपिसानी गरेर जीविका चलाएका थियौँ,’ भट्टले भने, ‘अहिले त करिडोरले डेढ घण्टामै तराई पुग्नसक्ने बनाइदियो । उनले जोगबुढा क्षेत्रको विकासका लागि करिडोर एउटा आशालाग्दो सडक भएको बताए ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएपछि पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक करिडोर निर्माण र करिडोरलाई महाकाली नदीको चारलेनको पुल हुँदै दोधाराचाँदनी सुक्खा बन्दरगाहलाई जोड्न सक्रिय छन् । लामो समयदेखि रुख कटानले जोगबुढा क्षेत्रसित जोडिन नसकेको करिडोरलाई उनकै पहलमा ट्र्याक खुलाउन पहलकदमी भएको हो ।


क्लिकमान्डु