भ्रमपूर्ण विज्ञापन र बिचौलियाको काम बन्द गर्न वैदेशिक रोजगार विभागको ३ दिने अल्टिमेटम

168
Shares

काठमाडौं । वैदेशिक रोजगार विभागले आफ्नो कार्यालय आसपास सञ्चालित साइबर र तालिम केन्द्रहरूलाई भ्रमपूर्ण प्रचारप्रसार रोक्न कडा निर्देशन जारी गरेको छ ।

विभिन्न निजी संस्थाहरूले ‘श्रम गरिन्छ’ र ‘अनलाइन फारम भरिन्छ’ जस्ता विज्ञापन राखेर वैदेशिक रोजगारीमा जाने युवाहरूलाई भ्रममा पारी रकम असुल गरिरहेको गुनासो आएपछि विभागले यस्तो कदम चालेको जनाएको छ ।

विभागका अनुसार यस्ता गतिविधिले बिचौलियालाई प्रश्रय दिएको छ । आगामी चैत ३० गते सोमबारसम्म आफ्ना कार्यालयमा राखिएका फ्लेक्स, होडिङ बोर्ड र विज्ञापनका सामग्री नहटाएमा सम्बन्धित व्यक्ति वा संस्थालाई वैदेशिक रोजगार ऐन, २०६४ अन्तर्गत कडा कारबाही गरिने सूचनामा उल्लेख छ । विभागले श्रम स्वीकृति सरकारी कार्यालयबाट मात्र हुने भएकाले सर्वसाधारणलाई सचेत रहन समेत अपिल गरेको छ।