अध्ययन बिदाका नाममा त्रिविमा ‘ब्रह्मलुट’, ३९७ शिक्षक-कर्मचारीले राज्यकोषको गरे २ अर्ब बढी क्षति

259
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र कर्मचारी अध्ययन बिदामा गएर नफर्किँदा २ अर्ब बढी बराबरको आर्थिक सुविधा दुरुपयोग भएको पाइएको छ ।

त्रिभुवन विश्वविद्यालयका ३९७ जना शिक्षक–कर्मचारीले ५ वर्षको अवधिमा राज्यकोषलाई झण्डै २ अर्ब २ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको पाइएको हो ।

ठूलो संख्यामा प्राध्यापक तथा कर्मचारी अध्ययन बिदा लिने र विदेश गएर उतै लुक्ने पाइएको थियो । सो विषयमा अध्ययन गर्दा ३९७ जना शिक्षक–कर्मचारीले ५ वर्षको अवधिमा २ अर्ब २ करोड १ हजार ५०५ रुपैयाँ बराबरको पारिश्रमिक र सुविधा लिएर पनि विश्वविद्यालयमा सेवा गर्न नफर्किएको देखाएको हो ।

त्रिभुवन विश्वविद्यालयको अध्ययन बिदा बसेर नफर्केका शिक्षक-कर्मचारीहरुको खोज समितिको अध्ययन प्रतिवेदनअनुसार एकजना उप–प्राध्यापकको मासिक तलब, ग्रेड, सञ्चय कोष, नागरिक लगानी कोष, बिदाबापतको रकम, महँगी भत्ता र प्राज्ञिक भत्ता जोड्दा वार्षिक १० लाख १७ हजार बढी रुपैयाँ खर्च हुन्छ । यसरी ५ वर्षसम्म बिदा बसेर नफर्कँदा एकै व्यक्तिले राज्यको करिब ५० लाख रुपैयाँसम्म दुरुपयोग हुन पुगेको छ ।

‘त्रिविको हालको उप–प्राध्यापक पदको शिक्षकको सेवा सुविधालाई मात्र आधार मान्ने हो भने १ जना शिक्षको ४८ हजार ७३७ बेसिक तलब जम्मा ८ ग्रेड वापत १३ हजार र सञ्चयकोष र नागरीक लगानीकोष समेत १०/१० प्रतिशत कट्टी गर्दा १२ हजार ३४८ र मासिक बिरामी बिदावापत् २ हजार ५७३, महँगी भत्ता २ हजार र प्राज्ञीक भत्ता १ हजार, चाडपर्व खर्च ६१ हजार ७३७ गरी जम्मा वार्षिक १० लाख १७ हजार ६३३ हुन आउँछ,’ प्रतिवेदनमा भनिएको छ, ‘यो हिसाबले ३९७ शिक्षक कर्मचारीले ५ वर्षको अवधिमा २ अर्ब २ करोड १ हजार ५०५ रुपैयाँ दुरुपयोग गरेको देखिन्छ ।’

समितिले यो रकम केवल आर्थिक नोक्सानी मात्र नभई, देशको प्राज्ञिक लगानीमाथिको ठूलो प्रहार भएको निष्कर्ष निकालेको छ । त्रिवि अन्तर्गतका क्याम्पस कार्यालयहरूमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरूलाई निजहरूको वृद्धि विकासका लागि अध्ययन अध्यापन र अनुसन्धान कार्य गर्न १ वर्ष देखि ५ वर्ष सम्मको अध्ययन बिदा दिने गरेको छ ।

जसले गर्दा विश्वविद्यालयमा अध्ययन अध्यापन हुने विषयहरूमा शिक्षकहरूको अध्यापन स्तरमा अभिवृद्धि भई सोबाट बिद्यार्थीहरूमा थप ज्ञान र सीप विकास हुन सक्ने अपेक्षा गरिएको छ । साथै, कर्मचारीहरूको वृद्धि विकासमार्फत् र प्राप्त ज्ञानमार्फत् कार्यालयको कामको सिलसिलामा थप प्रभावकारी बनाउन मद्दत मिल्ने अपेक्षा गरिएको छ ।

यसरी अध्ययन बिदाबाट प्राप्त गरेको ज्ञान र सीप विश्वविद्यालयको समग्र हितमा हुने अपेक्षाका साथ १ वर्ष देखि ५ वर्षसम्मको तलबी अध्ययन बिदा दिने कार्य त्रिविले गर्दै आएको थियो । स्वदेश तथा विदेशमा आर्जित ज्ञान र अनुसन्धानमूलक कार्यले विश्वविद्यालयलगायत देशकै विकासमा अपेक्षित लक्ष्य हासिल गर्न सक्ने उद्देश्यले बिदामा रहँदाको समयमा समेत तलब भत्ता उपलब्ध गराई अध्ययन बिदामा पठाउने गरिन्छ ।

अध्ययन बिदामा बसेका शिक्षकहरूले आफूले अध्ययन बिदा उपभोग गरेको समयअनुसार विश्वविद्यालयमा सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ सोअनुसार सेवा नगर्ने शिक्षक कर्मचारीहरूका लागि दण्ड सजायको समेत व्यवस्था गरिएको छ । जसअन्तर्गत १ वर्षदेखि ३ वर्षसम्म अध्ययन बिदा लिएका शिक्षक कर्मचारीले बिदापश्चात् ३ वर्ष त्रिविमा अनिवार्य रूपमा सेवा गर्नुपर्ने व्यवस्था छ भने ५ वर्षसम्म अध्ययन बिदा लिएका शिक्षकहरूले बिदापश्चात् ५ वर्ष नै सेवा गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

यदि नफर्किएमा वा सेवा नगरेमा खाएको तलब १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नपर्ने नियम छ । बिदामा बस्दा शिक्षकले नेपाली कागजमा फर्किने कबुलियतनामा गरेको हुन्छ । नफर्किएमा जायजेथाबाट भएपनि खाएको रकम असुल गर्ने भनिएको छ।

त्रिविको स्थापनाका केही समय पश्चात् नै त्रिविमा कार्यरत शिक्षक कर्मचारीहरूले अध्ययन बिदाको सुविधा उपभोग गर्दै आएका थिए । तथापि, त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० आएपश्चात् यो अध्ययन बिदा लिने क्रम अझ बढेर गएको देखिएको समितिले निष्कर्ष निकालेको छ ।

हालसम्म खोज समितिले त्रिविका ६० प्रतिशत आंगिक क्याम्पस र कार्यालयहरूमा प्रत्यक्ष रूपमा अवलोकन गर्दा अध्ययन बिदा लिई सेवामा नफर्कने शिक्षक कर्मचारीहरूका साथै अध्ययन बिदा लिई उपाधी हासिल गर्न नसक्नेहरूको संख्या समेत उल्लेख्य रूपमा रहेको पाइएको जनाएको छ ।

समितिले भविष्यमा अध्ययन बिदाको दुरूपयोग नहोस् र यसको प्रभावकारिता अझ सुनिश्चित होस् भनी अध्ययन बिदाको प्रभावकारिताका सम्बन्धमा रायसुझाव समेत संकलन गरेको छ । जसमा अनुगमन र मूल्यांकन प्रणाली थप प्रभावकारी बनाउनुपर्ने, अध्ययन बिदा यथार्थमै दक्षता विकासका लागि उपयोग हुने व्यवस्था गर्नुपर्ने समितिले जनाएको छ ।

अध्ययन बिदा लिएर निर्धारित समयमा नफर्किने प्रवृत्तिले त्रिभुवन विश्वविद्यालयलाई थप समस्यामा पारेको भन्दै यस्तो अवस्थामा सम्बन्धित शिक्षक वा कर्मचारी दरबन्दीमा कायम देखिए पनि प्राज्ञिक गतिविधिमा उनीहरूको कुनै संलग्नता नदेखिएको समितिको भनाइ छ ।

यसले दरबन्दीअनुसार रिक्त पदमा समयमै विज्ञापन गर्न कठिन भएको, पठनपाठन कार्य सञ्चालन गर्न आंशिक तथा करार शिक्षकहरूको भर पर्नुपर्ने अवस्था बनेको समेत समितिले जनाएको छ । समग्रमा यसले विश्वविद्यालयमा आर्थिक र व्यवस्थापकीय चुनौती मात्र नभई शैक्षिक गुणस्तरमा समेत कमी ल्याउने समस्या देखिएको छ ।

अध्ययन बिदा लिएपछि क्याम्पस कार्यालयमा नफर्कने शिक्षक तथा कर्मचारीहरूको संख्या अध्ययन गर्दा संकायतर्फको भन्दा बढी संस्थानतर्फको देखिएको छ । यसको मुख्य कारण प्राविधिक धारका शिक्षक तथा कर्मचारीहरू अध्ययन बिदाका क्रममा विदेश जानुका साथै विदेशमा प्राविधिक जनशक्तिको उच्च अवसर र माग हुनु रहेको समितिले जनाएको छ ।

त्रिवि अन्तर्गतका केही शिक्षकहरूले स्वीकृत अध्ययन बिदा लिएपछि निर्धारित समयमा अध्ययन पूरा नगर्नु, तथा अध्ययन बिदा समाप्त भएपछि क्याम्पस वा विभागमा पुनः नफर्किनुले अध्ययन बिदाको मूल उद्देश्य नै विफल भएको छ । विश्वविद्यालयले योग्य, दक्ष र अनुसन्धानमैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन बिदा प्रदान गर्दै आएको भए पनि, यस व्यवस्थाको दुरुपयोगले गम्भीर समस्या उत्पन्न गराएको छ ।

यस प्रकारको व्यवहारले त्रिविलाई बहुआयामिक असर पुर्‍याएकाे समितिको निष्कर्ष छ । समितिले योग्य जनशक्ति गुम्दा सम्बन्धित विभाग वा कक्षा शिक्षण, अनुसन्धान तथा मार्गदर्शनमा कमजोरी आउने खतरा बढेको, विश्वविद्यालयको नियम, मर्यादा तथा जिम्मेवारीप्रति असंवेदनशीलता प्रकट भई संस्थागत अनुशासनमा नकारात्मक प्रभाव परेको उल्लेख गरेको छ ।

खोज समिति गठनपछि रकम फिर्ता गर्न सुरु

त्रिविले समिति गठन गरेपछि कतिपयले दुरुपयोग गरेको रकम बुझाउन सुरु गरेका छन् । ‘अध्ययनका क्रममा पूर्ववत रूपमा आँकलन गरिएको संख्याभन्दा अझ बढी संख्यामा सुविधा दुरूपयोगको अवस्था देखिएको छ,’ अध्ययन समितिले भनेको छ, ‘समिति गठनपश्चात् दुरूपयोग गर्नेहरू सार्वजनिक जीवनमा पर्न जाने असरलाई मूल्यांकन गरी आफूले दुरूपयोग गरेको क्षतिपूर्ति रकम त्रिवि नियमानुसार बुझाउन अग्रसर रहेको समेत देखिन आएको छ ।’

जसअनुसार हालसम्म पृथ्वीनारायण क्याम्पास पोखराका उप प्रध्यापक मित्रमणी सुवेदीले ४३ लाख १४ हजार, शिक्षासास्त्र केन्द्रीय विभागका उप प्रध्यापक हेमाकुमारी रावतले ४४ लाख ७३ हजार र पश्चिमाञ्चल क्याम्पस पोखराका उप प्रध्यापक ज्ञानप्रसाद गौतमले ७ लाख ५५ हजार रुपैयाँ फिर्ता गरेका छन् ।

यस्तै, पद्मकन्या क्याम्पसका उप प्रध्यापक रेना श्रेष्ठले ९ लाख ७५ हजार, पोखरा क्याम्पसका उप प्रध्यापक शेषकान्त भण्डारीले ३६ लाख ३१ हजार पोखरा क्याम्पसका उप प्रध्यापक शम्भु पौडेलले ४४ लाख ८३ हजार रुपैयाँ रकम फिर्ता गरेका छन् । कुल ६ जनाबाट त्रिविले १ करोड ८६ लाख ३३ हजार ३७० रुपैयाँ प्राप्त गरेको छ ।

अध्ययन बिदा लिई हाजिर नभएका शिक्षक/कर्मचारी

समितिले अध्ययन काक्रममा सुर्खेत बहुमुखी क्याम्पसका लाल बहादुर राना, रामपुर क्याम्पस चितवनका पुस्कर पाल, दिनेश ढकाल, सुवर्ण शर्मा, लमजुङ क्याम्पस लमजुङका रामेश्वर पुडासैनी, अर्जुन काफ्ले, राजेन्द्र प्रसाद सिसोदिया, उमेश रोस्यारा, चूडामणि पौडेल छन् ।

पृथ्वीनारायण क्याम्पसका लक्ष्मी कुमार श्रेष्ठ, अनन्तराज आचार्य, कृष्णप्रसाद सिग्देल, मनहरि अधिकारी, भेषबहादुर थापा, विष्णु घिमिरे, सन्तोष शर्मा चालिसे पनि अध्ययन बिदा लिई हाजिर भएका छैनन् । केन्द्रीय प्रविधि क्याम्पस धरानका पुष्पप्रसाद आचार्य, कृष्ण प्रसाद बास्तोला लगायत पनि अध्ययन बिदा लिई हाजिर भएका छैनन् । यस्तो शिक्षक र कर्मचारीहरूको संख्या ३९७ छ ।

यसरी अध्ययन बिदा अवधिभर तलब सुविधा लिने तर काममा फर्केर योगदान नदिने शिक्षकमार्फत विश्वविद्यालयको आर्थिक स्रोतमा अनावश्यक बोझ परेको समितिले जनाएको छ । यो अवस्थाको अन्त्य गर्न त्रिविको नीति कार्यान्वयनमा कडाइ गर्नुका साथै, अनुगमन र मूल्यांकन प्रणाली थप प्रभावकारी बनाउन आवश्यक देखिएको छ ।

अध्ययन बिदा यथार्थमै दक्षता विकासका लागि उपयोग हुनेगरी अर्थात् व्यक्तिगत लाभका लागि मात्रै सीमित नहुनेगरी सोहीअनुसारको व्यवस्था गर्नुपर्ने समितिको सुझाव छ ।

ठूलो संख्यामा प्राध्यापक र कर्मचारी अध्ययन बिदा लिने र विदेश गएर उतै लुक्ने पाइएपछि त्रिविले जीवन काफ्लेको संयाजकत्वमा तीन सदस्यीय खोज समिति गठन गरेको थियो । समितिको सदस्यमा कृष्णहरी आचार्य र दीपक तिवारी थिए ।