
काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीले गोर्खालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित प्रख्यात लक्जरी हेरिटेज ‘समिट होटल’ को बिहिबार शिलान्यास गरेको छ । ‘समिट होटल’बाट प्रेरित यस परियोजना आधुनिक सुविधा र नेपाली मौलिकता समेटिएको स्तरीय लक्जरी रिसोर्टका रूपमा विकास गरिने सीजी हस्पिटालिटीले जनाएको छ ।
सीजी हस्पिटालिटीका अनुसार सन् १९७८ मा स्थापित काठमाडौंको ऐतिहासिक समिट होटलको विरासतलाई नयाँ स्वरूप दिदै गोर्खामा निर्माण हुन लागेको यो परियोजनाले आधुनिक सुविधाहरुका साथै नेपाली मौलिकता प्रदान गर्नेछ ।
करिब ३० रोपनी क्षेत्रफलमा फैलिने यो परियोजना आगामी दुई वर्ष भित्र सम्पन्न गर्ने लक्ष लिइएको छ । करिब ३० वटा लक्जरी कोठाहरु रहने यस होटलको रुम रेट करिब ५०० अमेरिकी डलर आसपास रहने छ । समिट होटलले नेपालभित्रका तथा विदेशबाट आउने पर्यटकलाई लक्षित गर्दै स्तरीय सेवा प्रदान गर्नेछ ।
सीजी हस्पिटालिटीका अनुसार यस परियोजनाको मुख्य उद्देश्य गोर्खालाई नेपालका प्रमुख लक्जरी पर्यटन गन्तव्यहरूको सर्किटमा जोड्नु हो । ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण गोर्खा दरबार नजिकै निर्माण हुने यो परियोजनाले नेपालको इतिहास, मौलिकता र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन गर्ने अपेक्षा गरिएको छ । गोर्खा त्यही स्थल हो जहाँबाट पृथ्वी नारायण शाहले नेपाल राज्यको एकीकरण गर्दै आधुनिक नेपालको निर्माण गरेका थिए ।
सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत राहुल चौधरीका अनुसार यो परियोजना नेपालको पर्यटन क्षेत्रमा चौधरी ग्रुपको निरन्तर विश्वास र प्रतिबद्धताको अर्को एउटा महत्त्वपूर्ण कदम हो । ‘गोर्खा नेपालको इतिहास बोकेको निकै महत्त्वपूर्ण क्षेत्र हो । नेपालको इतिहास, संस्कृति र मौलिकता तथा समिट होटलको विरासतलाई नेपालभर र विश्वसामु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । पर्यटनमार्फत नेपालको अर्थतन्त्र सुदृढ बनाउने सरकारको लक्ष्यमा चौधरी ग्रुप सधै सहयोगी भूमिकामा रहनेछ,’ उनले भने ।
समिट होटलले गोर्खा क्षेत्रमा रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा नयाँ लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ । यसले पर्यटनमार्फत क्षेत्रीय विकासलाई गति दिने विश्वास समेत गरिएको छ ।
केही दिनअघि मात्रै चौधरी ग्रुपले विश्वप्रसिद्ध होटल म्यारियट इन्टरनेसनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज–कार्लटन’ होटलको शिलान्यास काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा गरेको थियो ।
सीजी हस्पिटालिटी ग्लोबलले हाल प्रमुख अन्तर्राष्ट्रिय होटल ब्रान्डहरूसँग साझेदारी गर्दै आफ्नो विश्वव्यापी उपस्थितिलाई विस्तार गरिरहेको छ । हाल यसको पोर्टफोलियोमा १२ देशका १३० गन्तव्यमा २३० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन्, जसमा १५ हजारभन्दा बढी रुम क्यापासिटी रहेको छ ।
चौधरी ग्रुप नेपालकै सबैभन्दा ठूलो व्यापारिक घराना, प्रमुख करदाता तथा रोजगार सिर्जनामा अग्रणी संस्था हो । चौधरी ग्रुपको राजस्व योगदान सरकारको वार्षिक राजस्वको करिब २ प्रतिशत बराबर छ । आर्थिक वर्ष २०८१/८२ मा मात्रै चौधरी ग्रुपले २५ अर्ब ५९ करोड रुपैयाँ सरकारको राजस्वमा योगदान गरेको थियो भने पछिल्ला पाँच वर्षमा कुल ९२ अर्ब २६ करोड रुपैयाँ राजस्व योगदान गरिसकेको छ ।








प्रतिक्रिया