चालु आव नेपालको आर्थिक वृद्धिदर २.७% मा सीमित हुने एडीबीको प्रक्ष्येपण, दक्षिण एसियामा छैठौं

28
Shares

काठमाडौं | एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित हुने प्रक्ष्यपण गरेको छ । एडीबीले नेपालको आर्थिक वृद्धिदरमा आगामी दुई वर्ष उतारचढावपूर्ण रहने अनुमान गरेको हो ।

‘एसियन डेभलपमेन्ट आउटलुक २०२६’ अनुसार सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिने देखिए पनि सन् २०२७ मा ५ प्रतिशतको बलियो पुनरागमन हुने आशा गरिएको छ ।

यो आर्थिक उतारचढावको बीचमा सरकारले ‘पर्यटन’ लाई अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित गर्न रणनीतिक सुधार र लगानीको बृहत् खाका अघि सारेको छ ।

एडीबीको तथ्यांक विश्लेषण गर्दा सन् २०२६ नेपालका लागि आर्थिक रूपमा चुनौतीपूर्ण देखिन्छ । छिमेकी मुलुकहरू भुटान र भारत ६.९ प्रतिशतको उच्च वृद्धिदरका साथ अगाडि बढिरहँदा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित हुने देखिएको हो ।

चालु आर्थिक वर्ष बंगलादेश र श्रीलंकाले ४.० प्रतिशत तथा पाकिस्तानले ३.५ प्रतिशतको वृद्धिदर हासिल गर्ने एडीबीको प्रक्ष्येपण छ । नेपाल दक्षिण एसियामा अफगानिस्तान (२.३%) र माल्दिभ्स (१.०%) भन्दा मात्र अगाडि देखिन्छ ।

यद्यपि सन् २०२४ (३.७%) र २०२५ (४.६%) को वृद्धिलाई आधार मान्दा सन् २०२७ मा ५.० प्रतिशत पुग्ने प्रक्षेपणले अर्थतन्त्रमा ‘भी-आकारको’ सुधार आउने देखिएको हो ।