
एजेन्सी । सोसल मिडिया प्लेटफर्म एक्सका मालिक इलोन मस्क र टेलिग्रामका सीईओ पावेल डुरोभले ह्वाट्सएपको गोपनीयता (प्राइभेसी) माथि प्रश्न उठाएका छन् ।
मस्कले ह्वाट्सएपमाथि भरोसा गर्न नसकिने बताएका छन् । त्यस्तै, डुरोभले यसलाई इतिहासकै सबैभन्दा ठूलो इन्क्रिप्सन ठगी (फ्रड) भनेका छन् ।
यो विवाद अमेरिकामा ह्वाट्सएप विरुद्ध दायर गरिएको एक नयाँ क्लास एक्सन मुद्दापछि सुरु भएको हो । यो मुद्दा यसै वर्षको जनवरीमा ब्रायन वाई. शिराजी र निदा सामसन नामका दुई प्रयोगकर्ताले क्यालिफोर्नियाको फेडरल कोर्टमा दायर गरेका थिए ।
यसमा मेटा प्लेटफर्म्स र एसेन्चरलाई विपक्षी बनाइएको छ । याचिकाकर्ताहरूले जुरी ट्रायलको माग गरेका छन् र कम्पनीसँग क्षतिपूर्तिको अपिल गरेका छन् ।
याचिकामा ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरूको सन्देश बीचमै रोकेर सुन्ने/पढ्ने (इन्टरसेप्ट) गरेको दाबी गरिएको छ । मेटाले यी सन्देशहरूलाई एसेन्चर जस्ता तेस्रो पक्षहरूसँग साझा गरिरहेको यसमा उल्लेख छ ।
कम्पनीले आफ्ना सन्देशहरू एन्ड–टु–एन्ड इन्क्रिप्टेड भएको दाबी गर्छ जसको अर्थ पठाउने र पाउने बाहेक कुनै तेस्रो व्यक्तिले ती सन्देशहरू पढ्न सक्दैनन् ।
इलोन मस्कले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै एक्स च्याट प्रयोग गर्न अपिल गरे र त्यहाँ वास्तविक गोपनीयता पाइने दाबी गरे । त्यस्तै, पावेल डुरोभले ह्वाट्सएपले अर्बौं प्रयोगकर्ताहरूलाई भ्रममा पारिरहेको बताए । टेलिग्रामले कहिल्यै यस्तो गरेको छैन र गर्ने पनि छैन ।
यी गम्भीर आरोपहरूमा मेटाका प्रवक्ताले मुद्दामा गरिएका दाबीहरू पूर्ण रूपमा झूटो र अर्थहीन भएको बताए । ह्वाट्सएपले विगत एक दशकदेखि सिग्नल प्रोटोकलको प्रयोग गरिरहेको छ । तपाईंका सन्देशहरू पठाउने र पाउने व्यक्ति बाहेक अरू कसैले पढ्न सक्दैन, उनले थपे ।
मस्क र मार्क जकरबर्ग बीचको विवाद कुनै नयाँ कुरा होइन । मस्कले ट्विटर (अहिलेको एक्स) किनेपछि जकरबर्गले उनलाई टक्कर दिन थ्रेड्स सार्वजनिक गरेका थिए । सन् २०२५ मा मस्कले आफ्नो एआई च्याटबोट ग्रोकलाई मेटा एआई भन्दा राम्रो बताएका थिए ।
जुन २०२३ मा मस्कले जकरबर्गलाई केज फाइटको चुनौती समेत दिएका थिए जसको जवाफमा जकरबर्गले स्थान (लोकेसन) मागेका थिए ।
सरल शब्दमा भन्नुपर्दा एन्ड–टु–एन्ड इन्क्रिप्सन एक यस्तो सुरक्षा प्रविधि हो जसले तपाईंका सन्देशहरूलाई एक गोप्य कोडमा बदलिदिन्छ जसलाई पठाउने र पाउने व्यक्तिले मात्र पढ्न सक्छन् । यसको बीचमा इन्टरनेट सेवा प्रदायक, ह्याकर वा सेवा दिने कम्पनी (जस्तै ह्वाट्सएप वा मेटा) आफैंले पनि तपाईंका सन्देश, फोटो वा कलहरू हेर्न वा सुन्न सक्दैनन् ।








प्रतिक्रिया