कनकाई नगरपालिकासँगको सम्झौतापछि गोल्यानले भने- किसानलाई ५ लाख कमाउने बनाउँछौं



काठमाडौं । जनता एग्रो र झापाको कनकाई नगरपालिकाबीच प्रांगारिक व्यावसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवर्धनका लागि सम्झौता भएको छ ।

काठमाडौंमा शुक्रबार एक कार्यक्रम गरी जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेड र कनकाई नगरपालिकाबीच व्यावसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवर्धन गर्नेगरी सम्झौता भएको हो ।

सम्झौता पत्रमा जनता एग्रोका अध्यक्ष पवनकुमार गोल्यान र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै कनकाई नगरपालिकाका किसानले व्यावसायिक कृषिलाई अघि बढाउन आवश्यक तालिम, बीउविजन तथा प्रांगारिक मल, किटनाषक औषधि र उत्पादन खरिद-बिक्रीसम्मको व्यवस्था जनता एग्रो एन्ड फरेस्ट्रीले गर्ने भएको छ ।

हस्ताक्षर कार्यक्रममा जनता एग्रोका अध्यक्ष गोल्यानले कनकाई नगरपालिकाका किसानले उत्पादनको उचित मूल्य र बजार पाउने विश्वास व्यक्त गरे ।

उनले जनता एग्रोले जग्गा बाँझो राखेर युवा विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य गर्न व्यावसायिक कृषि ‘खेतिदेखि विक्रेता’ सम्म गुणात्मक उत्पादन र आपूर्ति प्रणालीको विकास गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय तहहरुसँग सम्झौता गरिरहेको बताए ।

अध्यक्ष गोल्यानले कनकाईका किसानले १ बिघा जग्गामा खेती गरेर वार्षिक ५० हजार कमाउन नसक्ने अवस्था रहेको भन्दै आफूहरुले पाँच वर्षमा ५ लाख आम्दानी गर्नसक्ने बनाउने प्रतिबद्धता जनाए । उनले नेपालमा ४ खर्बको कृषि वस्तु आयात भइरहेको तर नेपालमै कृषि उत्पादन गरी ४ खर्बबराबरको निर्यात गर्नसक्ने अवस्था रहेको बताए ।

अध्यक्ष गोल्यानले आयात भइरहेको ४ खर्ब कृषि वस्तु आगामी ५ वर्षभित्रमा शून्यमा ल्याउने प्रयासमा नगरपालिको साथ सहयोग हुने विश्वास व्यक्त गरे । नगरपालिकासँगको सम्झौता र सहकार्यले कनकाई नगरपालिकामा हुने कृषि उत्पादनको पहिचान, उद्यमको विकास तथा कृषि प्रशोधन उद्योगको स्थापना गर्न सुधार पुग्ने उनको विश्वास छ ।

नगर प्रमुख पोखरेलले जनता एग्रोसँगको सम्झौताले कनकाई नगरपालिकाभित्र कृषि उत्पादान र उद्यमका क्षेत्रमा क्रियाशील उद्यमी तथा नवउद्यमीलाई अवसरको ढोका खुलेको बताए । उनले जनता एग्रोसँगको सम्झौतासँगै किसानको जीविकोपार्जनको ग्यारेन्टीमा सघाउ पुग्ने र आर्थिक रुपमा समृद्धितर्फ अगाडि बढाउने विश्वास व्यक्त गरे ।

जनता एग्रोले स्थानीय तहहरुसँग समन्वय र सहकार्य गर्दै प्रांगारिक कृषि उत्पादन वृद्धि गरी बजारीकरणका लागि पहल गरिरहेको जनाएको छ ।


क्लिकमान्डु