सामाजिक सुरक्षा कोष आईएसएसएमा आबद्ध



काठमाडौं । सामाजिक सुरक्षा कोष विश्वमा सामाजिक सुरक्षा कार्यक्रमको छाता संगठनको रुपमा रहेको अन्तर्राष्ट्रिय सामाजिक सुरक्षा संगठन (आईएसएसए) मा आबद्ध भएको छ ।

सामाजिक सुरक्षा कोष केन्द्रीय कार्यालय काठमाडौँले आईएसएसएको सदस्यताका लागि पठाएको निवेदनलाई २६ जुन २०२३ मा स्वीकृत गरेको सो संगठनले जानकारी पठाएको हो ।

आईएसएसए विभिन्न देशमा सामाजिक सुरक्षाको सन्दर्भमा सन् १९२७ मा स्थापना भएका संस्थाहरुको नेतृत्वदायी अन्तर्राष्ट्रिय निकाय हो । हालसम्म यसमा १६० देशका ३२० संस्थाले सदस्यता प्राप्त गरेका छन् ।

नेपालको सामाजिक सुरक्षा कोषलाई अन्तर्राष्ट्रिय स्तरमा अब्बल र मजबुत बनाउन र सिकाइका लागि महत्वपूर्ण फोरम तय गर्न कोषको आईएसएसएको सदस्यता फलदायी रहने कोषको अपेक्षा छ ।

सामाजिक सुरक्षा कोषको दायरा औपचारिक, अनौपचारिक, वैदेशिक रोजगारी हुँदै स्वरोजगारसम्म विस्तार भएको छ । कोषमा विभिन्न क्षेत्रमा लागू हुनेगरी छुट्टाछुट्टै  कार्यविधि तयार भई लागु भएको छ ।

अन्य देशमा भएको राम्रा अनुभवबाट सिक्न र कार्यविधिलाई समसामयिक रुपमा परिमार्जन गर्दै लैजान आधिकारिक सन्दर्भ सामग्रीमा पहुँच हुन जरुरी रहेको कोषले जनाएको छ ।

‘जसका लागि आईएसएसए एक महत्वपूर्ण प्लेटफर्म हो । जहाँ विभिन्न देशका १४ सयभन्दा बढी संस्थागत असल अभ्यास उपलब्ध छन्,’ कोषद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु