झापामा सहकारीको ७० अर्ब पुँजी कृषि, उद्योग व्यापार, शिक्षा, स्वास्थ्य, दूध उत्पादन, वैकल्पिक ऊर्जामा लगानी



झापा । झापामा सहकारीमार्फत ७० अर्ब रुपैयाँ भन्दा बढी पुँजी परिचालन भएको छ ।

झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएका छन् । ‘सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ’, उनले भने, ‘यसले स्वरोजगार सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’

सहकारीमार्फत परिचालित पुँजी कृषि, उद्योग, व्यापार, यातायात, शिक्षा, स्वास्थ्य, पशुपालन, दूध उत्पादन, वैकल्पिक ऊर्जालगायतका क्षेत्रमा लगानी भएको अध्यक्ष ढकालले बताए । पछिल्लो समयमा झापाका सहकारीमा ऋण असुलीमा समस्या देखिएको छ । सहकारीबाट लिएको ऋण तिर्न आनाकानी गर्दा सहकारी संस्थाको ऋण असुलीमा समस्या देखिएको हो ।

अध्यक्ष ढकालले भने, ‘ऋण तिर्न प्रेरित गर्न राष्ट्रिय अभियान नै चलाउनुपर्ने देखिन्छ, यसमा राज्यको सहयोग अपरिहार्य छ ।’ झापामा आठ सय दुई सहकारी दर्ता भएकामा ५८ वटा खारेज भएका छन् । ‘स्थानीय तहले सहकारीको नियमन गर्न थालेयता र मर्ज हुने क्रम बढेसँगै सहकारीको सङ्ख्या घटबढ भइरहेको छ’, सङ्घका सचिव भवानीप्रसाद दङ्गालले भने ।

झापा जिल्ला सहकारी सङ्घमा चार सय ९२ सहकारी संस्था आबद्ध छन् । यसमा बहुउद्देश्यीय ७४, बचत तथा ऋण एक सय ९३, कृषि सहकारी एक सय ९३, दुग्ध र सुपारी ६-६, चिया र उपभोक्ता चार-चार, विविध आठ र सङ्घ चार आबद्ध रहेको सचिव दङ्गालले बताए । झापाका सहकारीमा पाँच हजारभन्दा बढी व्यक्तिले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।


क्लिकमान्डु