सम्पत्ति शुद्धीकरण मुद्दामा दुई व्यवसायीलाई ९० करोड जरिवाना र कैदको फैसला



काठमाडौं । विशेष अदालतले व्यवसायी प्रमोदकुमार जयसवाल र पप्पु ठाकुरलाई सम्पत्ति शुद्धीकरण मुद्दामा जरिवाना र कैद फैसला गरेको छ ।

विशेष अदालतले जयसवालमाथि ८ वर्ष कैदसहित ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ तथा ठाकुरमाथि ७ करोड ३४ लाख २८ हजार रुपैयाँ जरिवाना र ५ वर्ष कैद फैसला गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७७ वैशाख २ गते विशेष अदालतमा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा दर्ता गराएको थियो ।

विशेष अदालतका तीन न्यायाधीश टेक नारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले पुस ४ गते आरोपीहरुलाई कसुरदार ठहर गर्दै जरिवानासहित कैद सजाय सुनाएको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीकाअनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३०९१० अनुसार जायसवाललाई बिगो रहेको ४१ करोड ५१ लाख ६९ हजार २७५ रुपैयाँको दोब्बरले हुन आउने ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवानाको फैसला भएको जानकारी दिए ।

सोही मुद्दामा प्रतिवादी रहेका पप्पु ठाकुरको बिगो ३ करोड ६७ लाख १४ हजार रुपैयाँ कायम भएकोमा ७ करोड ३४ लाख २८ हजार रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको फैसला भएको छ ।

नक्कली कागजातको आधारमा कम्पनी दर्ता गरी नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा रुपान्तरण गरि सम्पत्ति शुद्धीकरण गरेको भन्दै उनीहरुमाथि मुद्दा चलेको थियो ।


क्लिकमान्डु