मंसिरसम्ममा करिब एक खर्ब लगानी प्रतिबद्धता, लक्ष्यभन्दा कम विदेशी लगानी



काठमाडौं । चालु आर्थिक वर्षको मंसिरसम्ममा स्वदेशी तथा विदेशी लगानीकर्ताले करिब एक खर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा ९३ अर्ब ९३ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको हो ।

मंसिर महिनासम्ममा स्वदेशी तथा विदेशी लगानीकर्ताले १७२ वटा उद्योग दर्ता गरेका छन् । मंसिरमा मात्रै ३१ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ । उक्त अवधिमा लक्ष्यभन्दा कम उद्योग दर्ता भएको छ ।

विभागले चालु आवको मंसिरसम्ममा ८० वटा ठूला, ८५ वटा मध्यम र २०० वटा उद्योग दर्ता गर्ने लक्ष्य लिएको थियो ।

विभागअनुसार मंसिरसम्ममा २१ वटा ठूला, १४ वटा मध्यम र १३७ वटा साना उद्योग दर्ता भएको छ । जुन लक्ष्यभन्दा निकै कम हो । त्यस्तै, मंसिरमा लगानीकर्ताले ३ अर्ब ४३ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

चालु आर्थिक वर्षको मंसिरसम्ममा लगानी प्रतिबद्धता जनाएका उद्योगहरुबाट १२ हजार ७६७ जनाले रोजगारी पाउने छन् । त्यस्तै, चालु आर्थिक वर्षको मंसिरसम्ममा १९९ वटा उद्योगमा विदेशी लगानी स्वीकृत भएको छ । ति उद्योगहरुले २० अर्ब ६० करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

विभागले चालु आवको मंसिरसम्ममा ३८ अर्ब लगानी प्रतिबद्धता आउने लक्ष्य राखेको थियो । तर, मंसिरसम्ममा १८ अर्ब कम लगानी प्रतिबद्धता आएको छ । मंसिरमा मात्र २ अर्ब २५ करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।

त्यसैगरी, मंसिरसम्ममा लगानी प्रतिबद्धता जनाएका विदेशी लगानीका उद्योगहरुले १० हजार १२० जनालाई रोजगारी प्रदान गर्ने जनाएको छ । विभागअनुसार मंसिरसम्ममा एकवटा प्याटेन्ट दर्ता भएको छ भने २१ सय ३८ वटा ट्रेडमार्क दर्ता भएको छ ।


क्लिकमान्डु