डलरको तुलनामा भारुको कीर्तिमान गिरावट

175
Shares

एजेन्सी । विश्वव्यापी भूराजनीतिक तनाव र कच्चा तेलको बढ्दो मूल्यका कारण भारतीय रुपैयाँ (भारु) सोमबार अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

कारोबारका क्रममा भारुले ९५ को मनोवैज्ञानिक विन्दु पार गर्दै डलरको तुलनामा ९५.०८ को नयाँ ऐतिहासिक न्यून विन्दु कायम गरेको छ ।

सोमबार बजार खुल्दा भारुमा केही सुधार देखिएको थियो र यो ९३.५७ सम्म पुगेको थियो । तर, दिउँसो ३ बजेतिर यसमा तीव्र गिरावट आयो । यसअघि गत शुक्रबार भारु ९४.८५ को रेकर्ड न्यून विन्दुमा बन्द भएको थियो ।

मुद्राको तीव्र अवमूल्यनलाई रोक्न भारतीय रिजर्भ बैंक (आरबीआई) ले नयाँ कदम चालेको छ । बैंकहरूले रातभर होल्ड गर्न सक्ने नेट ओपन पोजिसनमा १० करोड डलरको सीमा आरबीआईले तोकेको छ । बैंकहरूलाई अप्रिल १० सम्ममा यो नयाँ नियम पालना गर्न निर्देशन दिइएको छ ।

बजार विज्ञहरूका अनुसार, आरबीआईको यस कदमले बैंकहरूलाई आफूसँग भएको डलर बिक्री गर्न बाध्य पार्नेछ जसले गर्दा भारुलाई छोटो समयका लागि केही राहत मिल्न सक्छ । सिआर फरेक्स एडभाइजर्सका प्रबन्ध निर्देशक अमित पाबारीले भने, ‘बैंकहरूले आफ्नो पोजिसन मिलाउन डलर बिक्री गर्दा भारुलाई केही समयका लागि सहारा मिल्नेछ । यो सुधार मौलिक परिवर्तनभन्दा पनि प्राविधिक कारणले हुनेछ ।’

भारु कमजोर हुनुमा मुख्य दुईवटा बाह्य कारण देखिएका छन् । पहिलो, सुरक्षित लगानीको रूपमा डलरको माग बढ्दा डलर सूचकांक १०० भन्दा माथि (१००.०९) पुगेको छ । दोस्रो, पश्चिम एसियाको युद्धका कारण कच्चा तेलको आपूर्तिमा अवरोध हुने डरले ब्रेन्ट क्रुडको मूल्य २.१६ प्रतिशतले बढेर प्रति ब्यारल ११५ डलर पुगेको छ ।

भारत कच्चा तेलको ठूलो आयातक भएकाले तेलको मूल्य बढ्दा डलरको माग बढ्छ जसले भारुलाई थप कमजोर बनाउँछ । पाबारीका अनुसार, भूराजनीतिक विकासक्रम र डलरको मजबुती भारुका लागि आगामी दिनमा पनि चुनौतीपूर्ण रहनेछन् ।

रुपैयाँको गिरावट र विश्वव्यापी अनिश्चितताको प्रत्यक्ष असर दलाल स्ट्रिट (भारतीय सेयर बजार) मा पनि देखिएको छ । सोमबार सुरुवाती कारोबारमै बीएसई सेन्सेक्स ११९१.२४ अंकले घटेर ७२,३९१.९८ मा झरेको छ । त्यस्तै, निफ्टी ५० पनि ३४९.४५ अंकको गिरावटसँगै २२,४७०.१५ मा पुगेको छ ।

विदेशी संस्थागत लगानीकर्ताहरूले पनि भारतीय बजारबाट लगानी फिर्ता लैजाने क्रम जारी राखेका छन् । एक्सचेन्जको तथ्यांक अनुसार, शुक्रबार मात्रै उनीहरूले ४,३६७.३० करोड भारु बराबरको सेयर बिक्री गरेका थिए ।

विज्ञहरूका अनुसार, इरान युद्धको दिशा र विश्व बजारमा तेलको आपूर्ति सहज नभएसम्म भारतीय अर्थतन्त्र र मुद्रामा यो दबाब कायम रहने देखिन्छ ।