भ्रम पैदा गर्ने राजनीतिक दल दिगो हुँदैनः अर्थमन्त्री



नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले क्षणभरमा महत्वकांक्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दिगो नबन्ने बताएका छन् । नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनमा मन्त्री महतले भने, ‘यो हामीले बुझिराखौं, भ्रम पैदा गर्ने राजनीति दल दिगो हुँदैन ।’

‘अप्ठ्यारो पर्‍यो भने अधिकारमाथि आक्रमण भयो भने निरन्तर लागिरहने र धैर्य भएको राजनीतिक दल नेपाली कांग्रेस हो भनेर आम नागरिकलाई हामीले बुझाउनुपर्छ,’ उनले भने, ‘सामाजिक सञ्जालको जमाना छ, केही मानिसलाई गालीगलोज गर्न लगाउनुहोस्, त्यसबाट केही हुनेवाला छैन । केही गर्नका लागि धैर्य, जाँगर, समपर्ण र इमानदारी चाहिन्छ । त्यो नेपाली कांग्रेसमा मात्र छ ।’

पदमा हुँदा वा नहुँदा पनि आफूले जिल्लाको विकासमा योगदान दिइरहेको उनले दाबी गरे । ‘गरेको कामलाई प्रकाश महतले गर्‍यो भन्नु पर्दैन, हामीले पठाएको प्रतिनिधिले गर्‍यो अथवा कांग्रेसले गर्‍यो भनेर अपनत्व लिए हुन्छ,’ उनले भने, ‘यसको फाइदा भोलि चुनावमा व्यक्तिले होइन, कांग्रेसले पाउँछ, नत्र जनता भ्रमित हुन्छन् ।’

राजनीतिक दिशा कतातिर गइरहेको छ, त्यसलाई बुझेर कांग्रेस अगाडि बढ्नुपर्ने मन्त्री महतले बताए । एनसेलबारे सरकारले छानबिन समिति बनाएको र कर छलेको रहेछ भने नछाड्ने उनले स्पष्ट पारे ।


क्लिकमान्डु