अडानी ग्रुपले बिहारमा १ खर्ब ३९ अर्ब लगानी गर्दै
एजेन्सी । भारतीय अर्बपति व्यवसायी गौतम अडानीको व्यापारिक समूह अडानी ग्रुपले ८ हजार ७ सय करोड भारतीय रुपैयाँ लगानी गर्ने भएको छ ।
द इकोनोमिक्स टाइम्सकाअनुसार अडानी समूहले बिहारमा ८ हजार ७ सय करोड भारतीय रुपैयाँ (१ खर्ब ३९ अर्ब ८८ करोड नेपाली रुपैयाँ) लगानी गर्ने भएको हो । सिमेन्ट उत्पादनदेखि कृषिलगायतका विभिन्न क्षेत्रहरुमा अडानी समूहले लगानी गर्न लागेको हो ।
अगाडी समूहअन्तर्गतको अडानी इन्टरप्राइजेजका निर्देशक प्रणव अडानीले बताएअनुसार हालसम्म बिहारमा ८५० करोड भारतीय रुपैयाँ लगानी गरेको अडानी समूहले थप ८ हजार ७ सय करोड भारतीय रुपैयाँ बिहारमा लगानी गर्ने भएको हो । बिहार बिजनेस कनेक्ट २०२३ मा बोल्दै उनले यस्तो बताएका हुन् ।
यो लगानीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बिहारमा १० हजार जनालाई रोजगारी दिने पनि उनले बताए ।