राष्ट्रिय सभा निर्वाचन: राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्दै आयोग



काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्दैछ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्धारित समयमा आयोगमा दर्ता भएका १२ दललाई चुनाव चिह्न प्रदान गर्न लागेको हो ।

दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ । त्यसैगरी पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछन् ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदै छ। २०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो ।

गोला प्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समयावधि आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।


क्लिकमान्डु