नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्री खाण रिहा



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण रिहा भएका छन् । पूर्वमन्त्री खाण शुक्रबार धरौटी बुझाएर रिहा भएका हुन् ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले बिहीबार खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएपछि प्रक्रिया पुर्‍याउन खाणलाई जिल्ला अदालतमा उपस्थित गराइएको थयो । उनले शुक्रबार काठमाडौं जिल्ला अदालत पुगेर ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका थिए ।

त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराइएको थियो । विभागले पनि खाणलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अख्तियारले भने साधारण तारेखमा छाड्ने निर्णय गरेको छ ।

अदालत, सम्पत्ति शुद्धीकरण र अख्तियारबाट छुटेपछि खाण ७ महिना जेल बसेर शुक्रबार रिहा भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले उनलाई वैशाख २७ मा पक्राउ गरेको थियो ।


क्लिकमान्डु