विश्वासको संकटले सहकारी क्षेत्र धर्मरायो: सचिव दुवाडी



काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले विश्वासको संकटका कारण सहकारी क्षेत्र धर्मराएको बताएका छन् ।

नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३औं वार्षिक साधारणसभामा सचिव दुवाडीले सहकारीहरु सहकारीको रुपमा नचल्दा बचतकर्ता पीडित भएर माइतीघरमा आन्दोलन गर्ने अवस्था आएको जिकिर गरे ।

सहकारीले सदस्यभित्र कारोबार गर्छ, स्व-नियमनमा चल्छ भने पनि त्यसो हुन नसक्दा, कानुन पालना, सिद्धान्त र मूल्य मान्यताअनुसार चल्न नसक्दा समस्या बढेको उनले उल्लेख गरे ।

ऋण गलत ठाउँमा गएको र बचतकर्तालाई ऋण नदिने सञ्चालकले ऋण चलाउने गरेकाले बचतकर्ताले बचत फिर्ता पाउन नसकेको सचिव दुवाडीको बुझाइ छ ।

सहकारीले स्वेतपत्र सार्वजनिक गरेर बचतकर्तालाई वास्तविक कुरा जानकारी गराउने हो भने समस्या कम हुने उनले बताए ।

सहकारीका सञ्चालकले सम्पत्ति विवरण बुझाउँदा कुनै समस्या नहुने सचिव दुवाडीको भनाइ छ । ‘सबैले विवरण पठाउने हो भने नियामक निकायलाई काम गर्न सजिलो हुन्छ,’ उनले भने ।

सहकारी क्षेत्रमा देखिने गरी एक-दुई महिनामा केही काम हुने उनले जानकारी गराए । महासंघसँग समन्वय गरेर सहकारीको लेखा जाँच गर्ने भन्दै त्यसका लागि सहयोग गर्न महासंघलाई उनले आग्रह गरे ।

कार्यक्रममा सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेले सहकारीले ऐन कानुन अक्षरश: पालना गर्नुपर्ने बताए । सहकारी सुधार कार्यदलले दिएको सुझाव विभागले कार्यान्वयन गर्ने उनले जानकारी गराए ।

विभागमा बचत फिर्ताको माग राखेर धेरै बचतकर्ता आउने गरेको भन्दै उनले चैत मसान्तमा समस्यामा परेका सहकारीले बचत फिर्ता गराउन विभागले जोड दिएको बताए । सहकारीले ऋण असुलीमा पनि ध्यान दिने बेला भएको घिमिरेले उल्लेख गरे । साधारणसभाले आजै नयाँ कार्यसमिति चयन गर्नेछ । कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।


क्लिकमान्डु