एफपिओको प्रिमियम, मर्जर/प्राप्तिको लाभमा कर लागेपछि कुन बैंक र बीमा कम्पनीले कति तिर्नुपर्छ ?



काठमाडौं । बैंक वित्तीय संस्था तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिबाट भएको आम्दानी र लिलामीमा सेयर बिक्री गर्दा भएको लाभको कर बुझाउन सुरु गरेका छन् ।

एफपीओको प्रिमियम र मर्जर तथा प्राप्ति गर्दा भएको ‘बार्गेन पर्चेज गेन’मा कर लगाउने सरकारको निर्णयविरुद्ध दायर रिट बिहीबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेपछि उनीहरुले कर बुझाउन थालेका हुन् ।

आन्तरिक राजस्व विभागले एफपीओको प्रिमियम र मर्जर तथा प्राप्तिबाट भएको आम्दानीबाट १३ अर्ब रुपैयाँभन्दा बढी कर संकलन हुने अनुमान गरेको छ ।

सरकारको लेखा परीक्षण गर्ने महालेखा परीक्षकको कार्यालयले एफपीओको प्रिमियम र बार्गेन पर्चेज गेनमा कर छलि भएको भन्दै सरकारलाई कर उठाउन निर्देशन दिएको थियो । महालेखाको उक्त निर्देशनपछि अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेटमार्फत एफपीओको प्रिमियम र बार्गेन पर्चेज गेनको कर तिर्नुपर्ने व्यवस्था गर्दै मंसिर मसान्तसम्ममा कर तिरेको खण्डमा जरिवाना छुट गर्ने घोषणा गरेका थिए । उक्त घोषणाविरुद्ध बैंक तथा बीमा कम्पनी अदालत पुगेका थिए ।

रिट खारेज भएसँगै मंसिर मसान्तभित्र कर तिर्नुपर्ने भएको हो । मंसिर सकिन २ दिन बाँकी छ र आज शुक्रबार हो । भोलि सार्वजनिक बिदा भएकाले बैंक र बीमा कम्पनीहरुले आज करवापतको रकम आजै तिर्नेछन् । मंसिर मसान्तभित्र कर रकम दाखिला नगरेको खण्डमा व्याज हर्जना र जरिवानासमेत तिर्नुपर्ने आर्थिक ऐन २०८०/०८१ को दफा २६ र २७ मा व्यवस्था छ ।

शुक्रबार फस्ट आवरमै माछापुच्छ्रे बैंकले तत्कालीन स्टान्डर्ड फाइनान्स मर्ज गर्दा भएको आम्दानीको करबापत सरकारलाई ४ करोड रुपैयाँ बुझाइसकेको छ ।

कसले कति तिर्नुपर्छ ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक- २ अर्बको हाराहारी
नविल बैंक- करिब १ अर्ब ७० करोड
ग्लोबल आइएमइ बैंक- करिब १ अर्ब ३० करोड
नेपाल लाइफ इन्स्योरेन्स- करिब १ अर्ब ३ करोड
नेपाल बैंक- करिब ९६ करोड
एनएमबि बैंक- करिब ८४ करोड
स्ट्यान्डर्ड चार्टर्ड बैंक- करिब ९३ करोड
बुटवल पावर कम्पनी- करिब ५० करोड
हिमालयन बैंक- करिब ३० करोड
लक्ष्मी सनराइज बैंक- करिब २४ करोड
प्राइम बैंक- करिब २० करोड
प्रिमियर इन्स्योरेन्स- करिब १३ करोड
शिखर इन्स्योरेन्स- करिब साढे ८ करोड
सिटिजन्स बैंक- करिब ८ करोड
माछापुच्छ्रे बैंक- ४ करोड
पोखरा फाइनान्स- करिब ३ करोड
सानिमा बैंक- ९० लाख

सांग्रिला डेभलपेन्ट बैंक– १ करोड


क्लिकमान्डु