नक्कली शरणार्थी प्रकरण: पूर्वमन्त्री खाणलाई धरौटीमा छाड्न आदेश



काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले खाणलाई थुनामा पठाउन दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो ।

न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । यससँगै जिल्ला अदालतको आदेश बदर भएको छ ।

यसअघि न्यायाधीशबीच राय बाझिएको थियो । न्यायाधीश जनक पाण्डेले खाणलाई धरौटीमा छाड्नुपर्ने राय दिएका थिए भने अर्का न्यायाधीश प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय दिएका थिए ।

न्यायाधीशहरुबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाणले दिएको निवेदन बिहीबार कोइरालाको इजलासमा पेस भएको हो । उच्च अदालतको यो आदेशविरुद्ध पनि खाणले सर्वोच्च अदालतमा निवेदन दिन सक्ने कानुनी व्यवस्था छ ।

नक्कली शरणार्थी प्रकरणमा आरोपित बनाइएका ३० मध्ये १० जना अदालतमा उपस्थित भएका छैनन् । २०८० जेठमा पक्राउ परेदेखि खाण थुनामा छन् ।


क्लिकमान्डु