बालकृष्ण खाणको मुद्दा कोइरालाको इजलासमा, आज छुट्लान् कि थुनामै रहलान् ?



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो ।

पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध दायर पुनरावलोकन निवेदनको फैसलामा २ जना न्यायाधीशहरुको मत बाझिएपछि खाणको मुद्दा एकल न्यायाधीशको इजलासमा पेस गरिएको हो ।

मंसिर १५ गतेको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो । बिहीबार सुनुवाइ गर्ने न्यायाधीश कोइरालाले यसअघिका २ मध्ये जुन न्यायाधीशको रायलाई समर्थन गर्छन्, सोही आदेश कार्यान्वयन हुनेछ ।

पाण्डेले ३० लाख धरौटीमा छाड्न राय दिएका थिए । तर, न्यायाधीश खरेलले भने खाणको संलग्नता अरु सरहनै देखिएकोले जिल्लाको आदेश सदर हुने राय दिएका थिए ।

न्यायाधीश कोइरालाको इजलासले यसअघिका अघिका दुई न्यायाधीश बाहेकको तेस्रो राय दिएमा पुनरावलोकन निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ ।


क्लिकमान्डु