डिशहोमले घोषणा गरेको पुरस्कार रकम क्रिकेट खेलाडीलाई प्रदान
काठमाडौं । डिशहोमले घोषणा गरेको पुरस्कार रकम क्रिकेट खेलाडीलाई प्रदान गरेको छ । भैंसेपाटीस्थित आफ्नै मुख्य कार्यालय परिसरमा कार्यक्रम गरी डिशहोमले क्रिकेट खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्का, मुख्य प्रशिक्षक मोन्टी देसाई, कप्तान रोहितकुमार पौडेललगायत अन्य खेलाडी उपस्थित थिए । अक्टोबर २९ देखि सुरु भएको आईसीसी टी२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो ।
पुरस्कारअन्तर्गत खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रुपैयाँ तथा एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीलाई २० लाख रुपैयाँ दिइने डिशहोमले जनाएको थियो ।
एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिइने जनाएको थियो ।
नेपाल सोही खेलबाट १० वर्षपछि टी २० विश्वकपमा छनोट भएको छ । आईसीसी टी२० आई विश्वकप एसिया छनोटअन्तर्गत सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको थियो ।