प्रधानमन्त्री भन्छन्: रुसी सेनामा २ सय नेपाली छन्



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा २ सय नेपाली रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सोमबार प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा उनले रुसी सेनामा २ सय नेपाली रहेको औपचारिक जानकारी आएको बताएका हुन् ।

उनले कोही भिजिट भिसा र कोही अध्ययन भिसामा रुस पुगेका २ सय नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको खोजी कार्य भइरहेको जानकारी दिए ।

रुसी सेना बनेका नेपाली केही युक्रेनको कब्जामा रहेको र केही नेपाली युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको उनले बताए । प्रधानमन्त्री दाहालले हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको पनि जानकारी गराए ।

अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने र अर्को बनाउने कसरत भइरहेको उनको भनाइ छ । गठबन्धनका बैठकहरु हेर्दा त्यस्ता प्रयासले मात्रै केही नहुनेमा आफू विश्वस्त रहेको उनले बताए । प्रधानमन्त्री दाहालले गठबन्धन पूरै अवधि जाने र अब एक वर्षको समीक्षा गर्ने र अर्को एक वर्षको निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको स्पष्ट पारे ।


क्लिकमान्डु