सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो १२ निर्माण कम्पनीलाई कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायबाट पत्राचार भएअनुसार यी कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
१२ कम्पनीमध्ये सिरहाको आदर्श कन्स्ट्रक्सनलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै, कास्कीको त्रिवेणी निर्माण सेवा र गंगोत्री देवी निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।
इलामको बाबरी निर्माण सेवा, पाँचथदरको कमल कन्स्ट्रक्सन, बाँकेको अनामिका कन्स्ट्रक्सन, बाँकेको भावेश कन्स्ट्रक्सन, काठमाडौंको ऊर्जा-कुशभ-मष्ट जेभी र जुम्लाको प्रान्जल निर्माण सेवालाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।
त्यस्तै, सुर्खेतको रुमानी निर्माण सेवा, बझाङको पारस निर्माण सेवा र पर्साको रोहित निर्माण सेवालाई एक/एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । यी कम्पनीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि किसिमका सार्वजनिक खरिद कारबाहीमा भाग लिन नपाउने पनि कार्यालयले जनाएको छ ।