१४ किलो सुनमा २ जनालाई सुराकी कमिसन, कति पाउँछन् पैसा ?



काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट १४ किलो सुन भित्रिरहेको विषयमा सुराकी दिने २ जनाले १० प्रतिशत कमिसन पाउने भएका छन् ।

भन्सार कार्यालयबाट सुन भित्रिरहेको जानकारी गराउने दुई जनाले मंसिर २२ को मूल्यअनुसार १ करोड ४२ लाख ५९ हजार रुपैयाँ सुराकी कमिसन पाउने भएका हुन् ।

मंसिर २१ गते राति फ्लाइ दुबईको विमानमा आएका चन्द्र घलेको साथबाट १४ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर २२ गते प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ८५० रुपैयाँ थियो । यस हिसाबले १४ किलो सुनको मूल्य १४ करोड २५ लाख ९० हजार रुपैयाँ पर्छ ।

भन्सार (चौधौं संशोधन) नियमावली २०८० मा ‘सुन, चाँदी वा जवाहिरातसम्बन्धी मुद्दामा सुराकी दिने र त्यस्तो मालवस्तु मानिससहित वा मानिसबाहेक पक्री पेस गर्ने व्यक्तिलाई पुरस्कार दिँदा त्यस्तो मालवस्ति लिलाम वा बिक्रीबाट प्राप्त भएको रकमको १० प्रतिशत रकम पुरस्कार दिइने’ उल्लेख छ ।

यसअघि भन्सार नियमावलीमा त्यस्तो मालवस्तु लिलाम वा बिक्रीबाट प्राप्त भएको रकमको १० प्रतिशत वा १० लाख रुपैयाँमध्ये जुन घटी हुन्छ सोही रकम पुरस्कार दिने व्यवस्था थियो ।


क्लिकमान्डु