बैंकहरू मिटरब्याजी जस्तो हुनु हुँदैनः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका बैंकहरू मिटरब्याजी जस्तो हुन नहुने बताएका छन् ।
आइतवार झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बैंकले निर्मम साहु, मिटरब्याजी तरिकाले नभएर विकासको लागि सहयोगी र अनकुल संस्थाको रुपमा काम गर्न आवश्यक रहेको बताएका हुन् ।
उनँले बैंकहरुले जुन शर्तमा व्यवसायीहरुलाई ऋण दिएको हो त्यो शर्त पालना गर्न आवश्यक रहेको पनि बताए । बैंक र ऋणहरुबीच ब्याजदर लगायतका विषयमा शर्त पालना नभएर दुवैपक्षबीचको सहमतिमा ब्याजदर घटबढ गर्नुपर्ने उनको भनाइ थियो । उनले पछिल्लो समय बैंक र ऋणीहरुबीचको सहमतिमा ब्याजदर घटबढ गर्ने नियमावलीमा लेखिएको भएपनि घट्ने हुँदै नहुने तर बढ्ने मात्रै भइरहेको टिप्पणी गरे ।
उनले बैंकले एकलौटी ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्ने अवस्था सिर्जना भएको पनि उल्लेख गरे । अध्यक्ष ओलीले बैंकहरुले कर्जाको ब्याजदरलाई सिंगल डिजिटमा ल्याउर्नु पर्ने भन्दै अफ्ठ्यारोमा परेका व्यवसायीहरुलाई केही समयको लागि म्याद थप गरेर उद्यम व्यवसायहरू सहयोग गर्न आग्रह गरे ।
उनले बैंकहरुले व्यवसायीको व्यवसाय डुब्न लाग्यो भने सहायता गरेर त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने अवस्था सिर्जना गर्नुपर्ने बताए ।
ओलीले अफ्ठ्यारोमा परेको बेला ऋणीहरुको गज्जबको जग्गा रहेछ भन्दै लिलामीमा राख्ने तरिका उपयुक्त नभएको पनि उनको भनाइ थियो । उनले निक्षेपकर्ताहरू र ऋण लिएर बैंक चलाइदिनेहरू नै बैंकका आधार भएको बताए ।
बैंकमा ऋण लिनेहरू फालाफाल भएकाले अहिले बैंकहरूले ऋण लिनेहरूको महत्व बुझ्न नसकेको बताउँदै ऋण लिनेहरुले नै बैंकहरु चलाइदिने, ब्याज तिरिदिने पैसा गतिशील बनाइदिने भएको कारण बैंक र ऋणीहरुको सम्बन्ध तनावको रुपमा नभएर सुमधुर हुन आवश्यक रहेको बताए ।
‘बैंकले के बुझ्नुपर्छ भने डिपोजिट कर्ताहरू र ऋण लिएर बैंक चलाइदिनेहरू नै बैंकका आधार हुन्,’ उनले भने, लोन लिए न बैंक चल्छ पैसा थुपारेर बैंकले के गर्छ ?’
उनले आफू प्रधानमन्त्री भएको बेला बनाएको पोखरा विमानस्थलमा वर्तमान सरकारले उडान भर्न नसकेको भन्दै आपत्ति जनाए । पोखरा विमानस्थलबाट जहाज उडान गर्न सरकारलाई कसले रोक्यो ? भन्दै उनले प्रश्न गरे ।
पोखरा मात्रै नभएर भैरहवा विमानस्थलमा समेत वर्तमान सरकारले जहाज उडाउन नसकेको पनि उनले बताए । चिनियाँ ठेकेदारले विमानस्थल बनायो भन्दैमा उडान गर्न नदिने विषयलाई सरकारले मान्ने काम राम्रो नभएको उनको भनाइ थियो ।
‘हामीले पोखरामा विमानस्थल बनायौं । यो अहिलेको लुते सरकारले किन प्लेन उडाउँदैन त्यहाँबाट ? नउडाएको किन ? मेरो आपत्ति यो हो । हामीले भैरहवामा विमानस्थल बनायौं । किन उडाउँदैन । चिनियाँ ठेकेदार कम्पनीले सस्तोमा ठेक्का पा¥यो उसले निर्माण ग¥यो त्यसकारण हुन दिन्न । उडान भर्न दिन्न कसैले भन्छ भने त्यो कुरा नेपालले मान्ने ? जसले सस्तोमा बनाई दिन्छ त्यसैलाई बनाउन दिनुपर्छ,’ उनले भने ।
अध्यक्ष ओलीले नेपाल विकासको फड्को मार्न चाहेकाले जसले सस्तोमा बनाइ दिन्छ उसैलाई बनाउन दिनुपर्ने भन्दै उनले जसले सस्तोमा सामान दिन्छ उसको किन्ने र महँगोमा जसले हाम्रो सामान किन्छ उसैलाई सामान बेच्नुपर्ने बताए ।