दुर्गा प्रसाईंको गतिविधिलाई समयमै नियन्त्रण गर्न बैंक वित्तीय संस्थाका तीन संगठनको माग



काठमाडौं । बैंक वित्तीय संस्थाका तीनवटै संगठनले दुर्गा प्रसाईं नेतृत्वको समूहको गतिविधिलाई समयमै नियन्त्रण गर्न माग गरेका छन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्ति र समूहले वित्तीय संस्था र कमर्चारीहरुप्रति धम्कीपूर्ण अभिव्यक्ति, अराजक व्यवहार र आक्रमण गरिरहेको भन्दै अराजक घट्नालाई समयमै नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन् ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको झापाको बिर्तामोड शाखाका सहायक म्यानेजर दिनेश पनेरुलाई प्रहरीकहाँ पुर्‍याएको घटना सार्वजनिक भएको भन्दै बैंक वित्तीय संस्थाका तीनवटै संगठनले दोषीमाथि कारबाहीको माग गरेको हो ।

‘एक वाणिज्य बैंकको विर्तामोड, झापा शाखामा कार्यरत एक कर्मचारी माथि भएको धरपकड प्रति हाम्रो घोर आपत्ति रहेको र घट्नामा संलग्न दोषीहरुलाई कारवाहीको माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

ग्राहकलाई सेवा–सुबिधा प्रदान गर्न भूकम्प, कोभिड, लगायत विषम परिस्थिीतीमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरु माथि यस प्रकारको दुव्र्यवहार अत्यन्त निन्दनीय रहेको विज्ञप्तिमा जनाइएको छ ।

‘वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भयरहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूती गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन जिम्मेवार निकायहरुसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिनएको छ, ‘बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको हुँदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भइरहेका अराजक घट्नालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसँग अनुरोध गर्दछौं ।’

दुर्गा प्रसाईं अहिलेको राज्य व्यवस्थाविरुद्ध आन्दोलनमा छन् । उनले मंसिर ७ देखि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान’का नाममा ऋण मिनाहा गर्नेदेखि राजा फर्काउनेसम्मका नारासहित काठमाडौं केन्द्रित आन्दोलन पनि गरेका थिए ।

काठमाडौं केन्द्रित आन्दोलनका क्रममा उनले बैंकका कर्मचारीदेखि नेताहरुसम्मको कडा शब्दमा विरोध र निन्दा गरेका थिए।

२०७९ फागुन १ गते झापाबाट ‘महाअभियान’ सुरु गर्दै प्रसाईंले वित्तीय क्षेत्रमाथि अराजक भएर उत्रिने उद्घोष गरेका थिए । काँकडभिट्टामा आयोजित कार्यक्रममा उनले स्पष्ट शब्दमा अबको अभियान वित्तीय अराजकता निम्त्याउन केन्द्रित हुने बताएका थिए ।

उनले विभिन्न सार्वजनिक फोरममा ऋण उठाउन आउने बैंकका कर्मचारीलाई कालोमोसो दल्ने र आक्रमण गर्ने बताउँदै आएका छन् ।


क्लिकमान्डु