क्रोएसिया जाने लालचाले दलालको चंगुलमा डेढ सय युवा, १२ करोड ठगिएपछि हारगुहार



काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्दै आउने अपरिचित व्यक्तिलाई लाखौं रकम बुझाउने १५० जनाभन्दा बढी ठगिएको थाहा पाएपछि मिडियाको शरणमा आएका छन् । क्रोएसिया जाने लालचाले सुर्खेतका रिदम भनिने कृष्णबहादुर रानामगरलाई लाखौं रकम बुझाउनेहरु ठगिएको थाहा पाएपछि मिडियाको शरणमा आएका हुन् ।

विभिन्न सरकारी निकाय र प्रहरी प्रशासनमा आफूहरु ठगिएको प्रमाणसहित पटक-पटक धाउँदा पनि न्याय नपाएको भन्दै उनीहरुले पत्रकार सम्मेलन गरी दुःख पोखेका हुन् ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले ठगीमा रानामगरको ठूलो गिरोह नै सक्रिय भएको बताए । आगामी दिनमा आफूहरुजस्तै अरू कोही पनि नठगिउन् भनेर र ती ठगलाई यथाशक्य चाँडो पक्राउ गरी कारबाही गर्न मिडियामार्फत राज्यमाथि दबाब बढाउन पत्रकार सम्मेलन गर्नुपरेको उनीहरुको भनाइ छ ।

ठगिने अधिकांश युवायुवती दोलखाका छन् । रानामगरले दोलखाको गौरीशंकर गाउँपालिकाका ७० वर्षीय गोकुलबहादुर कार्कीलाई प्रयोग गरेर युवालाई ठगेको पाइएको छ ।

गोकुलले नै दोलखाका अधिकांश आफ्ना नाता पर्नेहरुबाट पासपोर्ट भेला गरेर नगदसहित रानामगरलाई बुझाएका थिए । ‘रिदम भन्ने भाइले गोंगबु चोकमा भेट्यो र क्रोएसियाको काम गरौं बुवा भनेर कागजात र पैसा उठाउन लगायो,’ गोकुलले पत्रकार सम्मेलनमा भने, ‘रिदम र बबिन तामाङ भएर हामीलाई ठग्ने जालो बुनेका रहेछन् । मोबाइलमा भिसा पठायो । टिकट भयो भन्यो । त्यसपछि १ करोड ११ लाख बुझाइयो । अहिले सबै बर्बाद भयो ।’

रिदमको स्थायी घर सुर्खेत भन्ने सुन्नमा आएको उनको भनाइ छ । दोलखा जिल्लाबाट मात्रै रिदमले २ करोड रुपैयाँभन्दा बढी उठाएको बुझिएको छ । क्रोएसिया जान खोज्नेहरुले गिरोहलाई जनही ७ देखि ९ लाखका दरले बुझाएका छन् । पत्रकार सम्मेलनमा ठगिएका २५ जना उपस्थित थिए ।

पीडितहरुले आफूहरुसँग रिदम र उनको गिरोहलाई पैसा दिएको बैंक डिटेल सबै सुरक्षित रहेको दाबी गरेका छन् । रिदमले नगद आफू बुझ्ने तर बैंकिङ च्यानलमार्फत हुने कारोबारमा आफ्ना मान्छेमार्फत कारोबार गराएको उनीहरुले बताएका छन् ।

रिदमको गिरोहमा मीनाकुमारी पुनमगर, देवी लामा, ओमकुमारी खपांगी पनि सक्रिय रहेको पीडितको आरोप छ ।

दोलखाका सुजन शाहीले आफूले ७ लाख ५० हजार बुझाएकोमा ६ लाख २५ हजार उठ्न बाँकी रहेको गुनासो गरे । बलराम पराजुली, प्रसन्न खड्का, राधेश्याम थापा, प्रकाश थापालगायतका पीडितले सरकारले यस्ता ठगलाई न्यायको कठघरामा उभ्याउनुपर्ने बताए ।


क्लिकमान्डु