निर्माण व्यवसायी विकास परिषद्बाट भूकम्पप्रभावितलाई ३० लाख सहयोग
काठमाडौं । निर्माण व्यवसायी विकास परिषद्ले जाजरकोट भूकम्पप्रभावितलाई ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पुनर्निर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रघुराम बिष्टले जानकारी दिए ।
‘राहत र पुनर्निर्माणका लागि २५ लाख तथा विद्यालयमा शैक्षिक सामग्रीका लागि ५ लाख दिने निर्णय भएको छ,’ उनले भने, ‘निर्णय भएको रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा हुनेछ ।’
भूकम्पप्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यान पुगेर फर्केलगतै मन्त्री ज्वालाले परिषद्को बैठक बोलाएका थिए । चिसो मौसमका कारण भूकम्पप्रभावित क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बन्दै गएपछि उनले राहत र पुन:स्थापनामा जोड दिएको परिषद्ले जनाएको छ । मन्त्री ज्वाला तीनपटक भन्दा बढी भूकम्पप्रभावित क्षेत्रमा पुगिसकेका छन् ।
उनले डेढ महिनाको पारिश्रमिक दिने यसअघि नै घोषणा गरिसकेका छन् भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सहसचिवले तीन दिन, उपसचिव र अधिकृतले दुई दिनको तलब लिने निर्णय भइसकेको छ ।