सांसद विनोद चौधरीको ताकेतापछि उखु किसानले पाए अनुदान बापतको रकम
नवलपरासी । नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने अनुदान रकम समयमै पाइन्छ ।
चिनी मिलहरुले समयमै भुक्तानी नगरिदिदा पछिल्लो समय उखु किसानहरु बैकल्पिक कृषि पेशातर्फ जान थालेका छन् । सरकारी तहबाट पनि उखु किसानका समस्या सम्बोधन गर्ने गरी पहल नहुने गरेको किसानको गुनासो छ ।
सधैंको यो समस्याबाट यसपटक पश्चिम नवलपरासीका किसानहरु मुक्त भएका छन् । सरकारले दिने अनुदान वापतको रकम यसपटक किसानले समयमै पाएका छन् ।
नवलपरासी पश्चिम-१ बाट निर्वाचित सांसद विनोद चौधरीको पहलपछि किसानले अनुदान रकम पाएका हुन् । उनले उखुको समर्थन मूल्य तोक्न र अनुदान रकम उपलब्ध गराउन कृषि मन्त्रालयलाई निरन्तर ताकेता गर्दै आएका छन् ।
नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार ‘सन्तु’ले सांसद विनोद चौधरीको पहलका कारण किसानले अनुदान वापतको रकम पाएको बताए । ‘हामी यहाँका जनप्रतिनिधि, उखु किसान गएर माननीय विनोद चौधरीसँग कुरा राख्यौं । उहाँले कृषि मन्त्रालयमा निरन्तर ताकेता गर्नुभयो । अनुदान रकम भुक्तानी गर्न कृषि मन्त्री, सचिव, कोलेनिकाका प्रमुखसँग कुरा गर्नुभयो’ उनले भने ।
कृषि मन्त्रालयले कृषि विभागमार्फत नवलपरासी पश्चिममा १५ करोड १२ लाख १५ हजार ५५८ रुपैयाँ अनुदान रकम वितरण गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नवलपरासीले जनाएको छ ।
‘दशैं अगाडि नै कृषि विभागबाट १५ करोड रुपैयाको अख्तियारी आएको हो । त्यसपछि हामीले उद्योगबाट किसानको विवरण मागेर डकुमेण्ट रुजु गरेर वितरण सुरु गरिसकेका छौं,’ जिल्ला कोलेनिका प्रमुख परशुराम नेपालले भने । उनका अनुसार पश्चिम नवलपरासीमा ६ हजार १९४ किसानका लागि अनुदान रकम आएको हो ।
‘कृषि मन्त्रालयले आर्थिक बर्ष ०७९/८० का लागि अनुदान रकम प्रतिक्विन्टर ७० रुपैयाँ तोकेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुदान रकम वितरण गरिएको हो । चिनी उद्योगबाट प्राप्त विवरणका आधारमा किसानको बैंक खातामा अनुदान रकम पठाउने काम भइरहेको समिति संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले उल्लेख गरे । ‘उखु किसानलाई दिने रकम निकासा भइसकेको छ । उनीहरुको बैकिङ खातामा रकम निकासा गरेका छौं,’उनले भने ।
उखुबापतको अनुदान रकम पाएपछि किसान खुसी छन् । ‘यसअघि अनुदान रकम पाउन निकै गाह्रो हुन्थ्यो, यसपटक माननीय विनोद चौधरीले पहल गर्नुभयो भनेर हामीले थाहा पायौं । पैसा हाम्रो खातामा आइसकेको छ, सुस्ता, विर्ताका उखु किसान राजेश्वर जयसवालले खुसी व्यक्त गर्दै भने, माननीयज्यूलाई धन्यवाद ।’