एसएमई नियमावली पास भए अर्थतन्त्र माथि उठ्छ: हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मुलुकको अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना तथा मझौला उद्यम (एसएमई) का लागि सम्पूर्ण इकोसिस्टम विकास गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २७औं वार्षिक साधारण सभामा शुक्रबार अध्यक्ष हमालले साना तथा मझौला उद्यमका लागि सम्पूर्ण इकोसिस्टम निर्माण गरेमात्रै मुलुकको आर्थिक प्रणाली दिगो,सबल र सन्तुलित बनाउन सकिने दाबी गरे ।
विकसित देशको अर्थतन्त्र पनि साना मझौला उद्यमबाट ९० प्रतिशत अर्थतन्त्र धान्ने गरेको बताए । अर्थतन्त्रको पिरामिडमा टप सूचकहरु एसएमईको पूर्वाधारबिना तयार हुन नसक्ने उनले बताए ।
नेपालको अर्थतन्त्रलाई अर्को युगमा प्रवेश गराउन एमएसएमईमा प्रोटोकल, प्रणालीसहित सम्पूर्ण इकोसिस्टम विकास गर्न आवश्यक रहेको हमालले बताए ।
बोर्डले पुँजी बजारमा साना तथा मझौला व्यवसायीको हितका लागि एसएमई नियमावली तयार पारेर सरकारसमक्ष प्रस्तुत गरेको उनले बताए । उक्त नियमावली पास भए ग्रामीण स्तरबाट अर्थतन्त्र माथि आउन सक्ने उनको तर्क छ ।
‘नेपालको अर्थतन्त्रलाई अर्को युगमा प्रवेश गराउन एमएसएमईमा प्रोटोकल, प्रणालीसहित सम्पूर्ण इकोसिस्टम विकास गर्न आवश्यक छ । जुन दिशामा हामी काम गरिरहेका छौं,’ उनले भने, ‘एसएमईका लागि आउट फण्डिङको मेकानिजम पुँजीबजारमा उपकरण नियमावली तयार पारेर सरकारलाई प्रस्तुत गरेका छौं । चाँडै पास भयो भने प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र एसएमईका लागि इकोसिस्टम विकास भएपछि ग्रामीण स्तरबाट अर्थतन्त्र माथि आउन थाल्छ ।’