प्रधानमन्त्रीज्यू ! सरेन्डर गरेर जनतासँग आउनुस्, तपाईंहरुले सक्नुभएन: प्रसाईं (सम्बोधनसहित)



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बल्खुमा भेला भएका प्रदर्शनकारीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ता छाडेर जनताको साथमा आउन चेतावनी दिएका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा जारी प्रदर्शनमा भेला भएकाहरुलाई सम्बोधन गर्दै उनले जनतालाई सत्ता सुम्पिन चेतावनी दिएका हुन् । उनले जनविद्रोह सुरु भएको र नेपालमा विद्रोहको बिरुवा रोपिएको जिकिर गरे ।

प्रसाईंको भनाइ जस्ताको तस्तै

यो देशमा युवा छैनन् । बुवाआमाले दसैंमा थालमा टीका मुछेर रूँदै बस्नुपर्ने दिनको सिर्जना गरिएको छ । यो कसले गरेको हो ?

त्यसकारण यो देशबाट दलाल नेताहरु, तस्कर १६ परिवार मारवाडीहरु, मैले सबैलाई भनिरहेको छैन, बर्माबाट लखेटिएर आएका मारवाडीहरु, हेर्नुहोस्, लघुवित्त पनि तिनैका हातमा, सहकारी तिनैका हातमा, फाइनान्स तिनैका हातमा, बैंक तिनीहरुकै हातमा, इन्स्योरेन्स तिनीहरुकै हातमा, रि-इन्स्योरेन्स तिनीहरुकै हातमा, सेयर जारी गर्ने स्टक एक्सचेन्ज तिनीहरुकै हातमा छ ।

त्यतिमात्र होइन, यी तस्कर नेताहरु पनि तिनीहरुकै हातमा छन्, उनीहरुकै पार्टनर बनेका छन् । यो देशबाट सबैभन्दा बढी सुन तस्करी हुन्छ । भारत जान्छ सुन । यहाँबाट नक्कली भारतीय रुपैयाँ भारत जान्छ । यहाँ रक्तचन्दनको सप्लाई हुन्छ । सुपारी तस्करी हुन्छ ।

यहाँका उद्योगधन्धा कलकारखाना बन्द गराइए । राजा महेन्द्रका पालामा हाम्रो देश उद्योग युगमा परिणत भइसकेको थियो । राजा महेन्द्रका पालामा ५२ वटा उद्योग खुलेका थिए । आठ सयवटा स्कुल खुलिसकेका थिए तर आज ती उद्योगधन्धा, कलकारखाना बन्द गराएर युवाजति बाहिर पठाएर यो देशमा रक्सी, चुरोट र चकलेट ल्याउने केन्द्र बनाइएको छ ।

मारवाडीहरुको इशारामा यो देशलाई तस्करीको अड्डा बनाइयो । आज विश्वको जुवा खेल्ने ठाउँ कहाँ हो भन्दा मकाउ भन्छन्, नेपाललाई आज तस्करीको देश भन्छन्, हिमालयको देश भन्दैनन् ।

तपाईंहरुले मेरा कुरा युट्युब र विभिन्न अन्तर्वार्तामा सुनिरहनुभएको छ, हिजो सबैलाई धनी बनाउन गाउँ पसेका लघुवित्त र सहकारीले आज सबैका घर, जग्गा, जमिन, हडपे र सुकुम्बासी बनाए । ७ प्रतिशतको ब्याज २८ प्रतिशत तिर्नुपरेको छ । नेपाली उद्योगी व्यवसायीहरु थला परेका छन् ।

मारवाडीहरुमात्रै बलिया भएका छन् । नेताहरुमात्रै बलिया भएका छन् । मैले भन्न खोजेको यत्ति थियो- गरिबको जग्गा नलुटिदेऊ, गरिबको घर नलुटिदेऊ, गरिबलाई गरिखान देऊ, व्यापारीहरुलाई राम्रो वातावरण बनाइदेऊ । मेरो आवाज यही थियो । मैले अरु कुरा केही मागेको थिएन ।

म मर्न तयार छु, थुनिन तयार छु तर भाग्न तयार छैन । म भाग्दिन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कुनै देशमा लगानी छ भन्दा पत्याउनुहुन्छ ? पत्याइँदैन नि । तर, नेपाली नेताहरुको दुबई, सिंगापुर, कम्बोडिया, मंगोलिया, तुर्केमिनिस्तान, अमेरिका, लन्डन सबै ठाउँमा लगानी छ । हाम्रो देश त्यत्तिकै टाट पल्टेको होइन ।

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई म राम्रोसँग चिन्छु । मैले उहाँसँग नजिक भएर २० वर्ष काम गरेको छु । म उहाँलाई के भन्छु भने- तपाईं सरेन्डर गर्नुस् । जनतासँग आउनुस् । अब तपाईंहरुले सक्नुभएन । जनतालाई जिम्मा लाउनुस् ।

म मेरा हजुरबुवा केपी शर्मा ओलीलाई आज राम्रोसँगले भन्छु- गरिब जनता गाउँबाट हाम्रो घर लुटियो, जग्गा लुटियो भनेर न्याय माग्न काठमाडौं आउँदा तपाईंका कमान्डका लठैतहरुले राति सुतेको ठाउँमा बलात्कार गर्न खोजे । अहिले पनि हामी आउँदा युवा संघका दुई-चार जना लठैतहरु उफ्रिँदै थिए ।

मैले भनिसकें- यो अभियान, यो जनविद्रोह आजदेखि सुरु भयो । नेपालमा विद्रोहको बिरुवा रोपियो । तपाईंहरुले नेताहरुलाई भोलिदेखि जहाँ भेट्नुहुन्छ, त्यहीँ भकुर्नुस् ।


क्लिकमान्डु