बुक बिल्डिङमार्फत आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्ट कस्तो कम्पनी ? को-को छन् सेयरधनी ?



काठमाडौं । नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिमार्फत सर्वोत्तम सिमेन्टको सेयर बिक्री सुरु भएको छ । कम्पनीले बुधबारदेखि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि सेयर जारी गरेको हो ।

कम्पनीले ४ अर्ब ६५ करोड रुपैयाँको १२.९ प्रतिशतले हुने ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता सेयर जारी गर्न लागेको छ। पहिलो चरणमा ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताका लागि बोलकबोलमा खुला गरिएको छ ।

संस्थागतलाई प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० पैसासम्मको मूल्य तोकिएको छ । संस्थागत लगानीकर्ताले मंसिर १० भित्र सोही सीमाभित्र रहेर बोलपत्र पेस गर्नुपर्ने छ ।

बोलकबोलमार्फत् दिएको आवेदनका आधारमा ‘कट अफ प्राइस’ निकालिन्छ । सोही कट अफ प्राइसभन्दा १० प्रतिशत मूल्य घटाएर दोस्रो चरणमा सर्वसाधारणलाई सेयर जारी गरिनेछ ।

उदाहरणका लागि ‘कट अफ प्राइस’ ५०० रुपैयाँ तोकिए कम्पनीको आईपीओको मूल्य ४५० रुपैयाँ कायम हुनेछ । सर्वसाधारणका लागि ३६ लाख कित्ता सेयर निष्कासन हुनेछ ।

धितोपत्र बोर्डबाट १३५ भन्दा धेरै संस्थाले संस्थागत योग्य लगानीकर्ताको अनुमति पाएका छन् । योग्य संस्थागत लगानीकर्तामा सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना, मर्चेन्ट बैंकर, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र व्यापारीलगायत छन् ।

कस्तो छ सर्वोत्तमको वित्तीय अवस्था ?

सौरभ समूहको मुख्य लगानी रहेको सर्वोत्तम सिमेन्टको प्लान्ट नवलपरासीमा छ । सन् २०१० मा स्थापित कम्पनीले सर्वोत्तम ब्रान्डमा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

करिब १३ सय डिलर्समार्फत सिमेन्ट बिक्री गरिरहेको कम्पनीले सन् २०२२ मा ७ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा भने कम हो । सन् २०२१ मा कम्पनीले ८ अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै सन् २०२० मा कम्पनीको आम्दानी ७ अर्ब ३७ करोड रुपैयाँ थियो ।

आर्थिक वर्ष २०७९/८० मा सर्वोत्तम सिमेन्टको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १८५ रूपैयाँ १९ पैसा छ । प्रतिसेयर आम्दानी आव २०७६/७७ मा ३९ रुपैयाँ २८ पैसा, आव २०७७/७८ मा ३२ रुपैयाँ ३५ पैसा र आव २०७८/७९ मा ११ रुपैयाँ ५५ पैसा थियो ।

कम्पनीले आव २०८०/८१ मा १७ रुपैयाँ ८२ पैसा, आव २०८१/८२ मा २२ रुपैयाँ ११ पैसा र आव २०८२/८३ मा प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४९ पैसा हुने प्रक्षेपण गरेको छ ।

आव २०७९/८० को अपरिष्कृत वित्तीय विवरणअनुसार ३४ करोड ५० लाख रुपैयाँ रहेको जगेडा कोषको आकार आव २०८०/८१ मा ४९ करोड ८५ लाख रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ ।

आव २०७९/८० असार मसान्तसम्मको वित्तीय विवरणअनुसार निर्माण अवधिको ब्याजसहित कम्पनीको लागत १२ अर्ब ७९ करोड ५७ लाख छ भने कर्जा ४ अर्ब ६८ करोड रुपैयाँ छ । अन्य केही सिमेन्ट कम्पनीले कूल आम्दानीभन्दा दोब्बर कर्जा लिएका छन् । तर, सर्बोत्तमले भने आम्दानीका ५० प्रतिशतभन्दा धेरै मात्र कर्जाको उपयोग गरेको छ । यसले कम्पनी वित्तीय अनुशासनमा बसेको विश्लेषण गर्न सकिन्छ। कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५ करोड रुपैयाँ छ ।

वार्षिक सिमेन्ट तथा क्लिंकर उत्पादन क्षमता समान ९ लाख ९० हजार टन रहेको कम्पनीले आव २०७९/८० मा ४ लाख ९३ हजार १९१ मेट्रिक टन सिमेन्ट र ५ लाख ३६ हजार ३२८ मेट्रिक टन क्लिंकर बिक्री गरेको जनाएको छ । कम्पनीमा २६४ स्थायी र १० ज्यालादारी गरी ३७४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आएको सर्वोत्तम सिमेन्टले इक्रा नेपालबाट ट्रिपल बी रेटिङ पाएको छ । ट्रिपल बीले समयमा नै सुरक्षितरुपले वित्तीय दायित्व वहन गर्न मध्यमस्तरको क्षमता रहेको संस्था भन्ने बुझाउँछ ।

को–को छन् सञ्चालक, कसको सेयर स्वामित्व कति ?

कम्पनीमा सबैभन्दा बढी सेयर स्वामित्व सञ्चालक समिति अध्यक्ष विष्णुप्रसाद न्यौपानेको छ । कम्पनीमा उनको १ करोड १७ लाख ३४ हजार २७९ कित्ता अर्थात् २८.९७ प्रतिशत सेयर छ ।

यस्तै मीनाकुमारी अग्रवालको ९२ लाख ४ हजार २२० कित्ता अर्थात् २२.७३ प्रतिशत, दुर्गाप्रसाद न्यौपानेको ३९ लाख ३ हजार ४८५ कित्ता अर्थात् ९.६४ प्रतिशत, टीकाराम न्यौपानेको ३९ लाख ३ हजार ४८५ कित्ता अर्थात् ९.६४ प्रतिशत सेयर स्वामित्व छ ।
यस्तै तेन्जिङ लाक्देन तामाङको २७ लाख ८ हजार १४० कित्ता अर्थात् ६.६९ प्रतिशत, नेहा अग्रवालको २७ लाख ३७ हजार ९१९ कित्ता अर्थात् ६.७६ प्रतिशत, कुन्तीदेवी न्यौपानेको १९ लाख ६८ हजार ४१९ कित्ता अर्थात् ४.८६ प्रतिशत र शिखा अग्रवालको २७ लाख ६१ हजार ७४२ कित्ता अर्थात् ६.८२ प्रतिशत सेयर स्वामित्व छ ।

कम्पनीमा अन्य विभिन्न संस्थाको पनि सेयर स्वामित्व छ । कृष्ण इन्टरनेसनल प्रालिको ०.१५ प्रतिशत अर्थात् ५९ हजार ५५९ कित्ता सेयर छ । उक्त कम्पनीको अध्यक्ष मीनाकुमारी अग्रवाल नै हुन् ।

त्यस्तै एसजी होल्डिङ प्रालिको ०.१६ प्रतिशत अर्थात् ६५ हजार ५१५ कित्ता सेयर स्वामित्व छ । उक्त कम्पनीको अध्यक्ष मेघा अग्रवाल हुन् ।

कम्पनीमा शर्मा एन्ड कम्पनीको ०.१५ प्रतिशत अर्थात् ५९ हजार ५५९ कित्ता सेयर छ। कम्पनीको अध्यक्षमा राधाकृष्ण शर्मा र सदस्यमा रेवतीदेवी शर्मा छन् ।

रसुवा कन्स्ट्रक्सन कम्पनीको ०.१५ प्रतिशत अर्थात् ५९ हजार ५५९ कित्ता सेयर स्वामित्व छ । कम्पनीको अध्यक्षमा राजेन्द्रराज आचार्य रहेका छन् ।

त्यस्तै हाथवे इन्भेस्टमेन्ट नेपालको ०.२९ प्रतिशत अर्थात् १ लाख १९ हजार ११८ कित्ता सेयर स्वामित्व छ । कम्पनीको अध्यक्षमा हेमराज ढकाल तथा सञ्चालकहरुमा अम्बिकाप्रसाद पौडेल, उत्तम नेपाल, सुरजकुमार श्रेष्ठ र कमलप्रसाद अर्याल छन् ।

कम्पनीमा लाइफ स्टाइल कन्सर्न प्रालिको ०.०१५ प्रतिशत अर्थात ५ हजार ९५६ कित्ता सेयर छ । कम्पनीको अध्यक्ष शिखा अग्रवाल हुन् ।

कम्पनीको सञ्चालकहरुमा विमलकुमार सावरथिया, तिकाराम न्यौपाने, दिवस न्यौपाने र तेन्जिङ लाक्देन तामाङ छन् ।


क्लिकमान्डु