विवादित बुक बिल्डिङलाई गति दिने हमालको ऐतिहासिक निर्णय, वास्तविक क्षेत्रका कम्पनीलाई फाइदा



दुई वर्षअघि विवादित बनेको प्राथमिक सेयर निष्कासनको उत्कृष्ट वैज्ञानिक विधि बुक बिल्डिङबाट सर्वोत्तम सिमेन्टलाई सेयर निष्कासन गर्न दिने निर्णय गर्दै धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले वास्तविक क्षेत्र (रियल सेक्टर)का कम्पनीलाई कारोबार र वित्तीय अवस्थाका आधारमा बजार मूल्य मूल्यांकन गर्ने बाटो खोलेर निजी क्षेत्रलाई पुँजी बजारमा आउन प्रोत्साहन गरेका छन् ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्म ढुंगानाले छोरीका नाममा र नेपाल स्टक एक्सचेन्जका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले श्रीमतीका नाममा सर्वोत्तम सिमेन्टको १० हजार कित्ता ‘गोल्डेन सेयर’ लिएको आरोप लागेपछि बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्ने प्रक्रिया अवरुद्ध भएको थियो ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत प्राथमिक सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको समयमै धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका प्रमुख कार्यकारी अधिकृत निकटले सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको घटना बाहिरिँदा नेपालमा बुक बिल्डिङ विधि नै धरापमा परेको थियो ।

कम्पनीको सेयर मूल्य बढाउने गरी सर्वोत्तम सिमेन्टले प्रभावशाली व्यक्तिहरुलाई सेयर बिक्री गरेको आरोप २०७८ साउनमा खेप्नुपरेको थियो ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ७५० को रेन्जमा ६० लाख कित्ता सेयर निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो । सोही समयमा बोर्डका अध्यक्षले सेयर किनेको आरोप लागेपछि बुक विल्डिङको सबै प्रक्रिया अवरुद्ध भएको थियो ।

सर्वोत्तम सिमेन्ट प्रकरणपछि नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत साउदले पदबाट राजीनामा दिए भने ढुंगानालाई सरकारले बर्खास्त गर्‍यो ।

ढुंगानाको बर्खास्तीपछि सरकारले २०७८ फागुनमा रमेश हमाललाई बोर्डको अध्यक्ष बनाएको थियो । बोर्डको अध्यक्ष भएपछि हमालले पनि लामो समय प्राथमिक निष्कासनको सबैभन्दा वैज्ञानिक विधि बुक विल्डिङ अघि बढाउन सकेनन् ।

धितोपत्र बोर्डमा अध्यक्ष भएर आएपछि बुक बिल्डिङको विषय अगाडि बढाउन ४-५ महिना आफू पनि डराएको हमाल स्विकार गर्छन् ।

‘एकपटक स्क्यान्डलमा परेर दुर्घटनामा परेको विषय कार्यान्वयन गर्न सकिएन भने समस्या हुन्छ भनेर मैले नियमन विभागलाई सचेत गराएको थिएँ, हाम्रो कानुनअनुसार नियमन विभागको प्रस्तावमा अध्यक्षले निर्णय गर्ने हो,’ उनले क्लिकमान्डुसँग भने, ‘म प्रणालीमा विश्वास गर्ने मान्छे हुँ । नियमन विभागका साथीहरुले जिम्मेवारीपूर्वक काम गर्नुभयो । जसले गर्दा बुक बिल्डिङको विषय निष्कर्षमा पुर्‍याउन सहज भएको हो ।’

धितोपत्र बोर्डमा अध्यक्ष भएको १९ महिनापछि बुक विल्डिङ विधिलाई हमालले टुंगो लगाएका छन् । धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठ बुक विल्डिङका विषयमा निर्णय हुनुलाई ऐतिहासिक बताउँछन् ।

बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न दिएर धितोपत्र बोर्डले निजी क्षेत्रलाई साधारण सेयर निष्कासन गर्न प्रोत्साहनको नीति लिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका बताउँछन् ।

‘प्रिमियममा सेयर निष्कासन गर्नुका आफ्नै सीमा छन्, कुनै कम्पनीले भविष्यमा राम्रो प्रगति गर्न सक्छ भन्ने लाग्यो भने बढी मूल्यमा पनि सेयर निष्कासन गर्न सक्ने अवसर बुक बिल्डिङले दिएको छ,’ उनले क्लिकमान्डुसँग भने, ‘बुक बिल्डिङ विधिमा बजारका योग्य र स्वतन्त्र कम्पनीहरुले मूल्य तय गर्ने हुँदा पारदर्शीसमेत हुने गर्छ । यसले पुँजी बजारको विकास र विस्तारमा अहं भूमिका निर्वाह गर्छ ।’

बोर्डले असोज २९ गते ४०१ रुपैयाँको रेन्जमा सेयर निष्कासन गर्न अनुमति दिएको छ । उक्त अनुमतिपछि सर्वोत्तम सिमेन्टले १० करोड रुपैयाँभन्दा बढी नेटवर्थ भएका योग्य संस्थागत लगानीकर्तालाई मंसिर ६ देखि सेयर निष्कासन गर्न लागेको छ । हाल धितोपत्र बोर्डबाट ११६ कम्पनीले योग्य संस्थागत लगानीकर्ताको अनुमति पाएका छन् ।

बुक बिल्डिङमार्फत ती संस्थागत लगानीकर्ताले बोर्डले निर्धारण गरेको मूल्य सीमा प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० पैसाभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र कित्ता खुलाउँदै मंसिर १० सम्म आवेदन दिनुपर्नेछ ।

योग्य संस्थागत लगानीकर्ताले दिइएको आधार मूल्यमा २० प्रतिशत तल-माथिको सीमाभित्र रहेर आवेदन दिन सक्नेछन् । यसरी आवेदन माग गर्दा योग्य संस्थागत लगानीकर्तालाई निष्कासन हुने सबै सेयर जुन मूल्यमा बिक्री हुन्छ सोही मूल्यलाई कटअफ मूल्य निर्धारण हुने व्यवस्था बुक बिल्डिङ निर्देशिकामा छ ।

४ अर्ब ६५ करोड रुपैयाँ पुँजी भएको सर्वोत्तम सिमेन्टले अहिले ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता सेयर बुक बिल्डिङ पद्धतिबाट निष्कासन गर्न लागेको हो, जुन कुल पुँजीको १२.९ प्रतिशत हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल र एनआईएमबी एस क्यापिटल छन् । योग्य संस्थागत कम्पनीले पेस गरेको मूल्यका आधारमा निकालिने कटअफ मूल्यका आधारमा सर्वसाधारणलाई सेयर निष्कासन हुनेछ ।

अहिले संस्थागत लगानीकर्ताले सेयर खरिद गर्न रुची नदेखाएको अवस्थामा सर्वसाधारणले पनि सेयर खरिद नगर्न सक्छन् । संस्थागत लगानीकर्तासँग कम्पनीको वित्तीय अवस्था र व्यवसायीक योजना पहिचान गर्ने क्षमता हुन्छ । जसले गर्दा बुक बिल्डिङलाई प्राथमिक निष्कासनको वैज्ञानिक विधि मानिने गर्छ ।

एकपटक विवादित बनेको सर्वोत्तमको विषय छिटो निष्कर्षमा पुर्‍याउन आफूले सरोकारवाला निकायसँग पटक-पटक छलफल गरेको र छलफलको क्रममा नै आफूले समस्या समाधानका लागि समन्वकारी भूमिका खेलेको हमाल दाबी गर्छन् ।

‘वास्तकिक समस्याभन्दा पनि शंका र अनुमानले अविश्वासको माहोल थियो,’ उनले भने, ‘सबै सरोकारवालालाई एउटै फोरममा राखेर छलफल गर्दै जाँदा विश्वासको वातावरण बन्यो । एक-अर्कालाई विश्वास गर्न सकियो । जसले गर्दा हामी निर्णय गर्ने तहमा पुगेका हौं ।’

यस्तो छ विधि

बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न चाहने संगठित संस्थाले आफूले तयार पारेको प्रारम्भिक विवरणपत्र उपर निष्कासन तथा बिक्री प्रबन्धकको सहभागितामा योग्य संस्थागत लगानीकर्तासँग छलफल गर्नुपर्छ ।

यस्तै, कम्पनीले पछिल्लो ३ आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण सबै योग्य संस्थागत लगानीकर्तालाई छलफल गर्नुभन्दा कम्तीमा ७ दिनअगाडि उपलब्ध गराउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

योग्य संस्थागत लगानीकर्ताले आफूले खरिद गर्न चाहेको न्यूनतम् संस्था र मूल्यसहित प्रस्ताव पेस गर्ने गरेका छन् । योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त हुने आशय मूल्यका आधारमा धितोपत्रको आधार मूल्य तय गर्ने गरिन्छ । त्यसपछि संगठित संस्थाले धितोपत्र निष्कासन अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिने गर्छन्  ।

धितोपत्र बोर्डबाट स्वीकृत पाएपछि निष्कासन तथा बिक्री प्रबन्धकले योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमा सहभागी हुन आह्वानपत्र प्रकाशन गर्नुपर्छ । निर्देशिकाको सोही व्यवस्थाअनुसार सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्तालाई आह्वानप्रत्र प्रकाशन गरेको छ ।

एक संस्थागत लगानी कर्ताले निष्कासित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेस गर्न पाउँदैन । यस्तै, संगठित संस्थासँग स्वार्थ बाझिने योग्य संस्थागत लगानीकर्तालाई समेत बोलकबोल प्रक्रियामा सहभागी हुने निर्देशिकाले रोक लगाएको छ ।

फर्जी आवेदन रोक्न योग्य संस्थागत लगानीकर्ताले आफूले खरिद गर्न कबोल गरेको शतप्रतिशत रकम तोकिएको निष्कासन बैंक खातामा जम्मा गर्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष हमाल लहडका आधारमा प्रस्ताव पेस हुने विकृति रोक्न संस्थागत लगानीकर्तासम्बन्धी कसिलो व्यवस्था गरिएको बताउँछन् ।

‘स्वतन्त्र कम्पनीले कम्पनीको व्यवसाय हेरर सेयर खरिद गर्न संस्थागत लगानीकर्तालाई विभिन्न सर्त राखिएको हो,’ उनले भने, ‘संस्थागत लगानीकर्ताले खरिद गरेको मूल्यभन्दा सर्वसाधारणलाई अझै सस्तो मूल्यमा सेयर निष्कासन गर्नुपर्ने भएकाले बुक बिल्डिङ सबैभन्दा पारदर्शी र कम त्रुटिपूर्ण विधि हो ।’

नेपाल स्टक एक्सचेन्जले योग्य संस्थागत लगानीकर्तालाई बिडिङ गराउनेछ । धितोपत्र बजारले कटअफ मूल्य निर्धारण गर्दै सेयर बाँडफाँड गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

बुक बिल्डिङबाट सेयर निष्कासन गर्ने कम्पनीको आधार मूल्य तय गर्न कसरी बिडिङ गर्ने भन्ने यकिन नहुँदा बुक बिल्डिङका विषयमा निर्णय गर्न समय लागेको हमाल बताउँछन् ।

धितोपत्र बोर्डले मर्चेन्ट बैंकर्स संघलाई बुक बिल्डिङलगायतका विविध क्षेत्रमा प्रयोग हुने इलेक्ट्रिकल अक्सन प्रणाली सञ्चालनमा ल्याउन भनेको थियो । तर, एसोसिएसनले अक्सन प्रणाली सञ्चालन गर्न नसकेपछि हाल नेपाल स्टक एक्सचेन्जले म्यानुअल विधिबाट बुक विल्डिङको अक्सन गरिएको छ ।

म्यानुअल र अटोमेटिक प्रणालीका विषयमा दुबिधा हुँदासमेत बुक विल्डिङको विषयमा निर्णय गर्न समय लागेको हमाल बताउँछन् ।

सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङबाट अनुमति दिँदा धितोपत्र बोर्डले दुईपटक योग्य संस्थागत लगानीकर्ताहरुबाट आधार मूल्यमा बिडिङ गराएको छ । पहिलो चरणको अक्सनबाट प्रतिकित्ता ५०१ रुपैयाँ आएकाले बोर्डले दोस्रोपटक अक्सन गरेको हो ।

‘२०७७ सालको बिडिङमा आधार मूल्य ७०० भन्दा बढी थियो । हामीले गत वर्ष गरेको बिडिङमा ५०१ रुपैयाँको प्रस्ताव पेस भएको थियो । तर, दोस्रोपटकको अक्सनमा प्रस्तावित मूल्य घटेको र बोर्डले सोही अनुसार अनुमति दिएको छ,’ अध्यक्ष हमालले भने, ‘सिमेन्ट कम्पनीको कारोबार घटेको प्रभाव सेयर मूल्यमा परेको हुनसक्छ । वित्तीय अवस्था र व्यवसाय राम्रो भएका कम्पनीलाई राम्रो मूल्य प्राप्त गर्ने बुक बिल्डिङभन्दा राम्रो अन्य कुनै विधि छैन ।’

कम्पनीको वित्तीय अवस्थामा हुने हेरफेरका आधार कम्पनीको मूल्य परिवर्तन हुन्छ । ‘बुक बिल्डिङको सबैभन्दा ठूलो लाभ भनेको कुनै पनि कम्पनीको मूल्य उसले गर्ने आम्दानी र उसको ब्राण्ड भ्यालुका आधारमा तय हुन्छ,’ उनले भने ।

स्वतन्त्र योग्य संस्थागत लगानीकर्ताले प्रस्ताव गरेको मूल्यका आधारमा निर्धारण हुने कटअफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणलाई सेयर निष्कासन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

१० करोड रुपैयाँभन्दा बढी नेटवर्थ भएका स्वतन्त्र कम्पनीले खरिद गरेको मूल्यभन्दा १० प्रतिशत सस्तो सर्वसाधारणलाई सेयर निष्कासन गर्नुपर्ने भएकाले बुक बिल्डिङ साना लगानीकर्ताको समेत हितमा छ ।

आरोपको वर्षा

हमाल धितोपत्र बोर्डको अध्यक्ष भएपछि सेयर ब्रोकरको लाइसेन्स खुला हुनुका साथै पाइभेट इक्विटी, भेन्टर क्यापिटललगायतका नयाँ-नयाँ उपकरण नेपालको पुँजी बजारमा प्रयोग हुन थालेका छन् । विगतमा भेन्चर क्यापिटल र प्राइभेट इक्विटीको विषयमा चर्चा भए पनि कामले तीव्रता पाएको थिएन ।

यस्तै, हमालले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा संशोधन गर्दा वास्तविक क्षेत्रका कम्पनीलाई सेयर निष्कासन गर्न सहज व्यवस्था बनाएका छन् । सेयरमा लगानी गरेर सधैं नाफा हुन्छ मानसिकता भएको नेपाली बजारले कमजोर कम्पनीको पुँजी बजारमा प्रवेशलाई सकारात्मक रुपमा लिन सकिरहेको छैन ।

लगानीमा सधैं जोखिम हुन्छ र जोखिम भएका कम्पनीमा लगानी गर्नु हुँदैन भन्ने चेतना कमजोर भएको नेपाली समाजले आर्थिक सौदावाजीमा कमजोर कम्पनीलाई हमालले प्रिमियममा सेयर निष्कासन गर्न दिएको र विभिन्न लाइसेन्स बाँडेको आरोप लगाइरहेको छ ।

हमाल प्रिमियममा प्रश्न उठ्नु स्वाभाविक भएको बताउँछन् । ‘बुक बिल्डिङ विवादित हुँदा प्रिमियममा सेयर निष्कासन गर्न दिने विधि प्रयोग गर्नुपरेको हो । प्रिमियम धितोपत्र बोर्डले तय गर्छ । बुक बिल्डिङमा कुनै पनि कम्पनीको मूल्य योग्य संस्थागत लगानीकर्ताहरुले तय गर्छन्,’ उनले भने, ‘बुक बिल्डिङको प्रभावकारी कार्यान्वयनले प्रिमियममा देखिएको समस्या क्रमश: समाधान हुँदै जानेछ ।’

धितोपत्र बोर्डमा बलियो प्रणाली बनाउन आफूले काम गरिरहेकाले कही व्यक्ति तथा समूहले सबै विषयमा आलोचना गरेको हमाल दाबी गर्छन् ।

‘धितोपत्र बोर्डको ३० वर्षको इतिहासमा १० वटा सामान्य प्रकृतिका कारबाही भएका थिए । भित्री कारोबार, सम्पत्ति शुद्धीकरण र मार्केट म्यानुपुलेसनमा बोर्डले कुनै कारबाही गर्न सकेको थिएन । के विगतमा पुँजीबजारमा कुनै विकृति थिएनन् ?’ उनले भने, ‘म अध्यक्ष भएर आएपछि हाम्रो टिमले १९ महिनामा १६ वटा कारबाही गरेको छ । त्यसमा एक-एकवटा मार्केट म्यानुपुलेसन र भित्री कारोबारसम्बन्धी, ४ वटा मनि लाउन्डरिङसम्बन्धी र अन्य विविध विषयका कारबाही छन् । मैले फोहोर पोखरीलाई सफा बनाउन खोजेको छु । विधि बलियो बनाउन खोजेको छु । प्रणालीअनुसार काम गर्न खोजेको छु । जसले गर्दा केही व्यक्तिले कुनै प्रमाणबिना व्यक्तिगत आरोप लगाइरहेका छन् ।’

बोर्डमा अध्यक्ष भएर आएदेखि नै आफैंले तजबिजी अधिकार कम गर्दा संस्थालाई अटोपाइटल मोडमा चलाउन खोजेको हमाल दाबी गर्छन् । ‘निजी क्षेत्रले बोर्डमा भएको सुधार महसुल गरेको छ,’ उनले भने, ‘तर विगतमा सिन्डिकेटको धन्दा चलाएका व्यक्तिलाई भने प्रणालीमा बोर्ड चल्दा समस्या भएको हुनसक्छ ।’

आफ्नो र परिवारको नाममा १ कित्ता पनि सेयर नरहेको दाबी गर्ने हमाल विगतमा बोर्ड र नेप्सेको नेतृत्वमा पुगेका व्यक्तिले कति सेयर किनेका थिए अनुसन्धान गर्न चुनौती दिन्छन् ।

‘विगतमा नियामक निकायमा हुने व्यक्तिले सूचनाको कारोबार गर्ने गरेको आरोप लाग्ने गरेको थियो । मेरो र परिवारको नाममा कुनै पनि सूचीकृत कम्पनीको १ कित्ता सेयर छैन,’ उनले भने, ‘व्यक्तिगतरुपमा धितोपत्र बोर्डको अध्यक्ष भएपछि मलाई घाटा भएको छ । मैले व्यवसायमा समय दिन सकेको छैन । मैले धितोपत्र बोर्डमा आएपछि गरेका सबै निर्णय छानबिन गर्न ओभरसाइड एजेन्सी स्वतन्त्र छन् । मैले कुनै निर्णय स्वार्थबाट प्रेरित भएर गरेको भेटिए कारबाही भोग्न तयार छु ।’


शरद ओझा