व्यावसायिक फूल खेतीमा ‘कृषि प्राविधिक’
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ मौरीफाँटाका विष्णु विकले स्थानीय विणा माविमा चार वर्ष कृषि जेटिए विषयमा शिक्षण गरे । विक कृषि पेसा अंगाल्ने उद्देश्यले शिक्षण पेसा छोडेर अहिले व्यावसायिक फूलखेती गरिरहेका छन् ।
यस वर्षको तिहारमा उनले चार क्विन्टल सयपत्री फूल बिक्री गरे । सबैतिर फूल प्रशस्त उत्पादन भएकाले बिक्रीमा गिरावट आएको उनले बताए ।
‘चार वर्ष अध्यापनकै क्रममा नमुनाका रुपमा दुई कठ्ठा जग्गामा फूलखेती गरेँ,’ विकले भने, ‘राम्रै नाफा देखेपछि शिक्षण पेसा छोडेर अहिले एक बिघामा खेती गरेको छु ।’ धनगढीमा ‘सिटी फ्लावर्स एण्ड गिफ्ट सप’ सञ्चालन गरेर फूलकै कारोबार पनि थालेको उनले बताए ।
फूल खेतीबाट राम्रै नाफा हुने गरेको उनले बताए । उनले एक जना कृषि जेटिएलाई रोजगारीसमेत दिएका छन् । ‘यो साल घरघरमा फूल फुलेकाले बिक्री कम भयो,’ उनले भने, ‘सात क्विन्टल जति छ, मंसिरमा विवाह, व्रतबन्धहरुमा बिक्री भइहाल्छ ।’
विकले थोरै लगानीबाट पनि व्यावसायिक रुपमा फूल खेती सुरु गर्न सकिने बताए । ‘फूल बिक्रीको मौसममा मासिक ५०-६० हजारभन्दा माथि नाफा भइहाल्छ,’ उनले भने ।
कञ्चनपुरको कृषि ज्ञान केन्द्रमा कार्यरत कृषि प्राविधिक जनक सिंहले महेन्द्रनगरस्थित जानकी कन्या माविको जमिन भाडामा लिएर सयपत्री फूल खेती गरेका छन् । ‘गत वर्ष केन्द्रका चार जना कर्मचारी मिलेर तिल्केनीमा दुई बिघामा फूल खेती गरेका थियौँ,’ उनले भने, ‘उक्त ठाउँ बजारभन्दा अलि टाढा भएकाले बजार छेउमै पाँच कठ्ठा जग्गामा खेती थालेका छौँ ।’
उनले भीमदत्त नगरपालिका, दोधारा चाँदनी, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा कृषकले व्यावसायिक रुपमा फूल खेती गर्न थालेको जानकारी दिए । ‘यहाँ चाडपर्वमा सयपत्री फूलको प्रयोग विगतमा भन्दा बढ्दै गएको छ,’ उनले भने, ‘यसले फूल खेतीमा पनि कृषकको आकर्षण बढेको हो ।