एमडीएमएसमा गएपछि सुरक्षित रुपमा मोबाइल प्रयोग गर्न सकिन्छ, अब यो बन्द हुँदैन: खनाल



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले विचौलियाहरुको कारण मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) लागू हुन समय लागेको बताएका छन् ।

प्राधिकरणले गत वर्ष नै मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भने पनि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा रोकिएको थियो । तर उक्त प्रणाली प्राधिकरणले सोमबारदेखि लागू गरेको छ ।

प्राधिकरणका अध्यक्ष खनालले मोबाइल कारोबार गर्ने विचौलियाहरुको कारण प्रणाली लागू गर्न समस्या आएको बताए ।

प्राधिकरणले मोबाइलका प्रयोगकर्ताहरुलाई सुरक्षित मोबाइल प्रयोग गर्नसक्ने र हराएको बेला तत्काल बन्द गर्नसक्ने प्रणाली लागू गरेको बताए ।

उनले ग्लोवल सिस्टम फर मोबाइल कम्युनिकेसन (जिएसएम)ले मोबाइल सेवाको प्रणाली एवं प्रविधिमा बनाएका मोबाइललाई उसको डाटावेसमा राख्ने तर टोल वा एसएमआई गरेका मोबाइलहरुको रेकर्ड त्यसमा नराख्ने बताए ।

प्रणालीका मोबाइल मात्रै नेपालमा खरिद गर्न पाउने व्यवस्था गरिएको उनको भनाइ छ ।

गुणस्तरीय मोबाइलहरुको प्रयोग उपभोक्ताहरुलाई ग्यारेन्टी गर्नको लागि प्रणाली ल्याएको उनको दाबी छ ।

एमडीएमएस प्रणालीले अहिले मोबाइल कारोबारमा भइरहेको कालोबजारीलाई पनि नियन्त्रण गरी राजस्व प्रशासनलाई सहयोग गर्ने विश्वास लिएको उनको भनाइ छ ।

प्राधिकरणको पाटो सुरक्षित रुपमा डाटा प्रयोग गर्ने र डाटाबेसबाट ल्याउने मात्रै भए पनि अर्थ मन्त्रालय र भन्सार प्रशासन पनि यसमा जोडिने बताए । भन्सारमा यो प्रणाली जोड्दा अवैध मोबाइलहरु एउटा पनि नेपाल भित्रन नपाउने अवस्था रहेको उनको भनाइ छ ।

नेपालमा वार्षिक रुपमा २० देखिएको २५ अर्बको मोबाइलहरु आयात हुने गरेको खनालको भनाइ छ । त्यसमा १० प्रतिशत अर्थात ३ अर्ब भन्दा बढी कालोबजारी हुने गरेको उनको दाबी छ । ३ अर्ब रुपैयाँ कमाउने विचौलियाहरुले २५ करोड खर्च गरेर गलत सूचना दिएको कारण एक वर्ष प्रणाली लागू हुन नसकेको उनको भनाइ छ ।

एमडीएमएस प्रणाली अब नरोकिने उनले बताए । प्रणाली लागू भएको दुई दिनमा १५ सय भन्दा बढी डिभाइसहरु बन्द भइसकेको अवस्था रहेको उनले जनाकारी दिए ।

विदेशमा रहेका नेपालीहरुलाई केही सहुलियत दिनको लागि सरकारले त्यो झिटीकुण्टा नियमावली संशोधन गरेर मागहरु पूरा गरेकाले अब एमडीएमएस नरोकिने उनले बताए ।


क्लिकमान्डु