एमडीएमएस लागू भएपछि १५ सय बढी मोबाइल बन्द, कसरी हेर्ने?
काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा आएसँगै प्रणालीमा दर्ता नभएका १ लाख रुपैयाँ भन्दा बढीका मोबाइल बन्द भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडीएमएस लागू भएपछि १५ सय भन्दा बढी डिभाइसहरु बन्द भइसकेको जानकारी दिए । एमडीएमएस प्रणाली अब नरोकिने उनको भनाइ छ ।
‘एमडीएमएस प्रणाली अब रोकिँदैन । दुई दिनमा १५ सय भन्दा बढी डिभाइसहरु बन्द भइसकेको अवस्था छ,’ खनालले भने, ‘अघिल्लो वर्ष रोकिनुको कारण केही ठाउँको डिमाण्डसेसहरु हाण्डिल गर्नुभएकाले रोकिएको थियो । विदेशमा रहेका नेपालीहरुलाई केही सहुलियत दिनु थियो । सरकारले त्यो झिटीकुण्टा नियमावली संशोधन गरेर मागहरु पूरा गरेको छ । अब कारोबजारी रोक्नमा सबै केन्द्रित भएका छौं ।’
प्राधिकरणले सोमबारबाट एमडीएमएस लागु गरेको थियो । अवैध तथा गैरकानुनी रुपमा मोबाइल फोनहरु नभित्रिउन् र कानुनी बाटोबाट नै मोबाइलहरुको आयात तथा खरिद बिक्री गराउने लक्ष्यसहित एमडीएमएस प्रणाली नेपालमा कार्यान्वयनमा ल्याइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले कात्तिक १९ गतेसम्मको समयसिमा तोक्दै एमडीएमएस प्रणालीमा फोनहरु दर्ता गर्न भनेको थियो ।
बन्द गरिएका मोबाइलमा नेपाल टेलिकम र एनसेलसहितका नेपाली नेटवर्कका सिम चल्ने छैन । तर मोबाइलमा एप र वाइफाइ भने चल्ने छ ।
प्रयोगकर्ताले आफ्नो फोन एमडीएमएसमा दर्ता भएको छ/छैन भनेर हेर्नका लागि भने एमडीएमएस प्रणालीको आधिकारिक वेबसाईटमा फोनको आईएमईआई नम्बर राखेर हेर्न सक्नेछन् ।
आफ्नो फोन एमडीएमएसमा दर्ता भएको छ/छैन भन्ने एमडीएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np मा गएर हेर्न सकिन्छ । यसका लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउन सकिन्छ ।
अथवा मोबाइल नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर दर्ता गर्न सकिन्छ ।