कोरिया र नेपालले कृषि विकासमा सहकार्य गर्ने, यस्ता छन् समझदारीका ८ बुँदा
काठमाडाैं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र गणतन्त्र कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुङ्ग व्हाङ्गक्वुनबीचको दुइ देशको कृषि विकास गर्ने बिषयमा समझदारी भएको छ
समझादारी पत्रमा नेपालको तर्फबाट कृषि मन्त्री भुसाल र गणतन्त्र कोरियाका तर्फबाट कृषि मन्त्री चुङ्गले हस्ताक्षर गरेका छन्। समझदारी पत्रमा दुबै पक्षले आ आफ्नो राष्ट्रिय कानून र नियमावली बमोजिम दुई देशबीचको कृषि विज्ञान तथा प्रविधि, कृषि तथा पशुपन्छी उत्पादन, कृषि प्रशोधन र कृषि उत्पादनको क्षेत्रमा सहयोगलाई सुदृढ ढंगले अगाडि बढाउने उल्लेख छ ।
यो समझदारीले दुई देशबीचको सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउने ठूलो अवसर प्रदान गर्ने भएको छ । गणतन्त्र कोरिया सरकारबाट रेशम खेती प्रवर्द्धन, दुग्ध क्षेत्र विकास र तरकारीको मूल्य शृखलाकाे विकासमा भएको सहयोगबाट नेपालले ठूलो लाभ लिएको छ उल्लेख छ । उन्नत आलुको विउ उत्पादन र हाईब्रिड धान उत्पादन प्रविधिमा सहकार्य गर्ने कार्य प्रक्रिया अगाडि बढाउने समझदारीमा उल्लेख छ ।
यस्तो छ समझदारी बुँदाहरु
– कृषि तथा पशुपन्छी क्षेत्रको अध्ययन, अनुसन्धान तथा विकास, पूर्वाधार विकास र क्षमता अभिबृद्धिमा दुई देशबीचको सहयोग र सहकार्य गर्न सकिनेछ ।
– नेपाल कृषि अनुसन्धान परिषद र कोरियाको कृषि अनुसन्धान परिषद बीचको सहकार्यमा कृषि क्षेत्रको अनुसन्धानका कार्यहरु अगाडी बढाउने अवसर श्रृजना हुनेछ ।
– दुई देशका कृषि विश्वविद्यालयहरुको सहकार्यमा कृषि अनुसन्धान तथा अध्ययनका कार्यहरु अगाडि बढाउन सकिनेछ – दुई देश बिचको सहयोग र सहकार्यमा कृषि तथा पशुपन्छी विकासको क्षेत्रमा विषेश गरि संरक्षित कृषि, उच्च मूल्य जाने कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरण, दुग्ध व्यावसाय लगायतका क्षेत्रमा थप कार्य गर्न सकिनेछ ।
– कृषि पूर्वाधारहरुको विकास, तालिम केन्द्र निर्माण, कृषि बजार बिकासमा सहकार्य गर्न सकिनेछ ।
– कृषि क्षेत्रसंग सम्बन्धित प्राविधिक मानव संशाधन, युवा कृषकहरु तथा निजी क्षेत्रमा कृषि उद्यमीहरुको क्षमता अभिबृद्धि गर्न सकिनेछ ।
– नेपाली कृषि स्नातक विद्यार्थी तथा युवा कृषकहरुको लागि सिक्ने र कमाउने अवसरको लागि कोरिया राम्रो गन्तव्य हुन सक्नेछ ।
– नेपालमा विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको सम्भावना भएको हुनाले कोरियाको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्वपूर्ण हुनेछ ।